तानसेन नगरपालिकाद्वारा दलित क्षमता विकास तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाल्पाकाे तानसेन नगरपालिकाको आयोजनामा दलित क्षमता विकास तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सन्तोष लाल श्रेष्ठले लक्षित समुदायका लागि नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । नगरपालिकाले दलित समुदायको सशक्तीकरणका लागि नयाँ ऐनको परिकल्पना गरी कार्यान्वयन गर्न कार्यपालिकाले आवश्यक कदम चाल्ने बताउनुभयो । नगर प्रमुख श्रेष्ठले दलित समुदायको सशक्तिकरणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नगरपालिकाले समावेशी समाज निर्माणका लागि सबै समुदायको समान सहभागिता आवश्यक रहेकाे बताउनुभयो । यस्ता तालिमहरूले दलित समुदायका नागरिकहरूलाई सक्षम बन्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय ले नेपालका तीनवटै तहका सरकारले दलित समुदायको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै, नगरपालिकाले पनि दलित लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । समाजमा विद्यमान असमानता हटाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुरालाई व्यवहारिकता दिन सहभागीलाई सुझाव दिनुभयाे ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले तानसेन नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नै तालिम सञ्चालन गरिएको बताउदै, तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अग्रसर हुने आर्गह गर्नुभयाे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै तानसेन वडा नं. ७ की वडा सदस्य मिना परियारले तालिमबाट प्राप्त सिकाइलाई आपसमा साटासाट गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं तानसेन नगरपालिकाका उप–प्रमुख प्रतिक्षा सिंहजाली ले नगरपालिकाले विगतका वर्षदेखि वडा तथा नगरस्तरमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । संविधानले दलित समुदायलाई नेतृत्व तहमा ल्याउने व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो । नगरपालिकाले आगामी दिनमा यस्ता लक्षित कार्यक्रमहरूलाई अझ प्राथमिकता दिने बताउनुभयो । तालिम कार्यक्रमकाे अाैपचारिक कार्यक्रम नगरपालिकाका सामाजिक विकास अधिकृत भरत
आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रशिक्षक कृष्ण गतहराज र कृष्ण दर्नालले दलित समुदायका नागरिकहरूकाे कानुनी अधिकार, व्यवसायिक सीप, तथा सामाजिक नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियाे । सहभागीहरूले कार्यक्रम उपयोगी भएको बताउँदै यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्ने माग गर्नु भएको छ ।








































Comments