तानसेन नगरपालिकाद्वारा ‘राजनीतिमा महिला नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पा – तानसेन नगरपालिकाको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा ‘राजनीतिमा महिला नेतृत्व’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

कार्यक्रम नगर उपप्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमकाे प्रमुख अतिथि नगरप्रमुख सन्तोषलाल श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता शाेभाकर न्याैपाने, नेकपा (एमाले)का प्रतिनिधि धनेन्द्र राज घिमिरे, नेकपा (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (समाजवादी), राष्ट्रिय जनमोर्चा तथा राष्ट्रिय जनमुक्तिका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले समाजको समुचित विकासका लागि महिलाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । नेतृत्व तहमा महिलाको संख्या मात्र होइन, उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । तानसेन नगरपालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा अझ प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो ।  नगरप्रमुख श्रेष्ठले महिलाको नीति निर्माण तहमा उल्लेखनीय उपस्थितिका लागि सबै दलहरू एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । नगरपालिकाले  महिला श्रमिकहरूको हकहित संरक्षण, समान प्रतिनिधित्व, र नयाँ पुस्ताका महिलाहरूलाई नेतृत्व विकासमा प्रोत्साहन गर्ने कुरामा जाेड दिने बताउनुभयाे ।

 

कार्यक्रममा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत कोशलराज घिमिरे, नगर प्रवक्ता यादव सिंह कार्की, वडा अध्यक्ष सुनिल कुमार बस्याल, कार्यपालिका सदस्यहरू सविता भट्टराई, मञ्जु बिक, अनुराम, शाखा प्रमुख तथा महिला कर्मचारीहरूको समेत उपस्थिति थियो । यसैगरी, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) नगर कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा पूर्व संविधानसभा सदस्य लीला सोमैले ‘राजनीतिमा महिला नेतृत्व’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) जिल्ला कार्यसमिति अध्यक्ष धनेन्द्रराज घिमिरे र नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्रवक्ता शोभाकर भट्टराईले टिप्पणी प्रस्तुत गर्नु भएको थियाे ।

 

कार्यक्रममा कार्यपालिका सदस्य सविता भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने महिला तथा बालबालिका शाखाका कर्मचारी चिना कुमारी न्यौपानेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । छलफलमा सहभागी विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूले महिलाको राजनीतिक नेतृत्वलाई अझ प्रभावकारी बनाउन आवश्यक पहलहरूबारे आफ्ना धारणा राखेका थिए ।

Comments