तानसेन नगरपालिकाले श्रमिकहरूलाई सम्मान गर्दै मनायो १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस
पाल्पा — आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस,तानसेन नगरपालिकाको प्राङ्गण केही अलग्गै देखिन्थ्यो । सामान्य दिनमा प्रशासनिक चहलपहल रहने सो स्थानमा यस दिन श्रमिकहरूको जमघट थियो । घाटीमा खादा, अनुहारमा उत्साह र मनमा सम्मानको अनुभूति बोकेका थिए उनीहरू । कारण थियो—१३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस, जसलाई यस वर्ष तानसेन नगरपालिकाले विशेष रूपमा मनायो ।"श्रमको सम्मान,राष्ट्रको अभियान" भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नगरभित्र विभिन्न क्षेत्रहरूमा कार्यरत श्रमिकहरू जसमा निर्माण, सरसफाइ, घरेलु, कृषि क्षेत्रमा संलग्न श्रमिकहरूको उल्लेखनीय सहभागिता देखियो ।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानपछि नगर प्रमुख सन्तोष लाल श्रेष्ठको सम्बोधन गर्नु भएको थियाे । उहाले श्रमिकहरूको योगदान नेपालको विकास र समृद्धिमा अपरिहार्य रहेको बताउनुभयो । विकासको सपना देख्ने हरेक योजनाको जग श्रमिककै पसिना र परिश्रममा अडिएको हुन्छ,प्रमुख श्रेष्ठले बताउनुभयो । तानसेन नगरपालिका श्रमिकहरूको हकहित संरक्षणमा प्रतिबद्ध छ र आगामी दिनमा उहाहरूकाे लागि सामाजिक सुरक्षा तथा सीपमूलक कार्यक्रमहरू विस्तार नगरपालिका विशेष याेजना अगाडि बढाउने बताउनुभयो । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरभित्रका नागरिकहरूलाई स्वरोजगारमूलक तालिम तथा रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । यस कार्यक्रमको माध्यमबाट धेरै श्रमिकहरूले आवश्यक सीप र ज्ञान हासिल गर्दै आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्नु भएको बताउनुभयो ।
नगरपालिकाले यसैबीच आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा ती श्रमिकहरूप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान गरिएको बताउनुभयो । यो सम्मान केवल व्यक्तिको नभई, श्रमको सम्मान रहेको बताउदै नगरको समग्र विकासमा उहाँहरूको योगदान अमूल्य रहेकाे बताउनुभयो । स्थानिय सरकारले नागरिकलाई सबल र सक्षम बनाउन विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर सिकेका सीपलाई व्यवहारिक रुपमा प्रयोग नगर्दा तालिममा गरिएको लगानी सदुपयोग हुन सकेको छैन । तालिममा सिकेका ज्ञान र सीपलाई जीवनमा उतार्न, स्वरोजगार बन्न प्रयत्न गरे समृद्ध नगर निर्माणमा हुने भएकाले सबै एक्यवद्ध भएर अग्रसर हुनेपर्ने कुरामा जाेड दिनुभयाे ।
उक्त अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रका ९० जना श्रमिकलाई दोसल्लाद्वारा सम्मान गरिएकाे छ । कार्यक्रममा नगर उपप्रमुख प्रतिक्षा सिङ्जालीले मजदुर दिवसले श्रमिकहरूको अधिकार, श्रमको सम्मान र न्यायपूर्ण कार्यस्थल सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउने अवसर रहेको बताउनुभयो । समाजको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अमूल्य रहेको बताउनुभयो । श्रमिकहरूलाई केवल 'श्रम गर्ने' जनशक्ति होइन, राष्ट्रनिर्माणका आधार स्तम्भको रूपमा हेर्नुपर्ने बताउदै श्रमिकको श्रमको उचित मूल्यांकन, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनशैली सुनिश्चित गर्नु हाम्रो साझा दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले श्रमिकहरूलाई केवल श्रमदाताको रूपमा होइन, समाजका आधारशिला र परिवर्तनका संवाहकका रूपमा चिनाउने प्रयास यो दिवसले गरेको बताउनुभयो । यस्ता सहभागितामूलक र संवेदनशील कार्यक्रमहरूले तानसेन नगरलाई श्रमिकमैत्री नगर बनाउने दिशामा सकारात्मक सन्देश दिने बताउदै नगर सरकारले आगामी बर्षहरूका पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।
कार्यक्रममा तानसेन नगरपालिकाका लेखा अधिकृत काेसल राज घिमिरेले नगरपालिकाले नागरिकहरूलाई सक्षम र दक्ष बनाउन प्रधानमन्त्री राेजगार कार्यक्रमबाट तालिम सञ्चालन गरेको बताउनुभयो । तालिमले आगामी दिनमा नगरका कामलाई गुणस्तर बनाउन सहयोग गर्ने बताउनुभयो । तानसेन नगरपालिकाले मनाएको यो वर्षको मजदुर दिवस कार्यक्रम केवल औपचारिकता कार्यक्रम थिएन । यसले श्रमिकहरूको गरिमामय पहिचानलाई सामाजिक रूपले मान्यता दिने र उनीहरूको आवाजलाई नीति निर्मातासम्म पुर्याउने माध्यम बनेको छ ।








































Comments