तानसेन नगरपालिकाले कृषकहरूलाई निशुल्क डाले तथा बहुवर्षे घाँसका विरुवा वितरण
पाल्पा-जिल्लाकाे तानसेन नगरपालिकाले नगरका कृषकहरूलाई निशुल्क डाले तथा बहुवर्षे घाँसका विरुवा वितरण गरेको छ । तानसेन नगरपालिकाकाे आर्थिक बर्ष २०८०/८१ काे बार्षिक स्वीकृत कार्यक्रम तर्फ हरियो घाँस विस्तार कार्यक्रम अन्तर्गत तेस्रो चाैमासिकमा डाले तथा बहुर्षे घाँस वितरण गरिएको हाे । कृषकहरूलाई इपिल इपिल,स्मार्ट नेपियर,रेड नेपियर,माेलाटाे/पास्पालम,राई खन्यु,किम्बु,माेरिङ्गा लगाएतका बिरुवा वितरण गरिएको तानसेन नगरपालिकाका कृषि शाखा प्रमुख सराेज तिमिल्सिनाले बताए । संघीय सरकारकाे सशर्त अनुदान अन्तर्गत रूपैयाँ २ लाख ५० हजारबाट घाँसका बिरुवा वितरण गरिएको पशु शाखा प्रमुख दान बहादुर कवर मगरले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले घाँस वितरण कार्यक्रमले नगरपालिकाका ग्रामिण परिवेशका कृषकहरूका पशुहरूकाे दूध उत्पादन,मासु उत्पादनमा वृद्धि हुने अपेक्षा नगर सरकारले गरेको बताए । कार्यक्रमले पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको बताए ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले तानसेन नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर भएको बताइन । हाल तानसेनमा करिब ३२ सय लिटर दुधकाे उत्पादन हुने गरेको बताइन । तानसेनमा अहिलेकाे तथ्यांकअनुसार झण्डै २ हजार लिटर दुध खपत हुने गरेको छ । केही मात्रामा दूध बाहिरी जिल्लामा पनि खपत हुने भएकाले नगरपालिका दुधमा आत्मनिर्भर रहेको बताइन । नगरपालिकाले वितरण गरेको घाँसबाट आगामी दिनमा पशुपालन गर्ने कृषकहरूकाे व्यवसाय थप प्रवर्द्वन हुने बताइन । कार्यक्रमकाे सञ्चालन कृषि शाखा प्रमुख सराेज तिमिल्सिनाले गरेका थिए ।








































Comments