तानसेन नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
पाल्पा,तानसेन नगरपालिकाले आ व २०८१।०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिकाका योजना शाखा प्रमुख दुर्गा बहादुर थापाले नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ मा नगरपालिकाले सम्पादन गरेका काम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। २०८१।०८२ को ३७४ योजना रहेको बताउदै २३० योजना सम्झौता भैसकेको, ४६ योजना सम्पन्न भएको,९८ योजना सम्झौता हुन बाकी रहेको जानकारी दिनुभयो। साथै उहाले ५ लाख सम्मको योजना वडाबाटै सम्झौता हुने व्यवस्था भएपछि उपभोक्तालाई निकै सहज र प्रभावकारी भएको बताउनुभयो।योजनाहरुलाई छिटोछरीतो सम्पन्न गर्न एक वडा एक प्राविधिक ,हरेक वडामा उपभोक्ता समितीलाई क्षमता विकास तालिम संचालन,अनुगमनलाई प्राथमिकता दिएको बताउदै, यो आ व मा नगरपालिकाको भौतिक पुर्वाधार,योजना तर्फको लक्ष्यका बारेमा बताउनुभयो।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले सेवाग्राहीहरुको जिज्ञाशाको जवाफ दिदै नागरीकको सुरक्षा व्यवस्थामा सहयोग पुर्याउन जिल्लाका सुरक्षा निकायसंग समन्वय गरेर सिसि क्यामरा जडान गर्ने,नागरीकमा विकास आयोजनाहरुको अपनत्व वृद्धि गर्न सह लगानीका आयोजनालाई प्राथमिकतासाथ कार्यान्वयन गरेको बताउनुभयो ।
सेवाग्राहीहरुको जिज्ञाशाको जवाफ दिदै नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने विषयमा नगरपालिका सम्वेदनशील रहेको बताउनुभयो । उहाले नगरपालिकाले सिमीत स्रोत र साधनका बाबजुद पनि बिकास र्निमाणका काम अगाडि बढेको, कृषि,ढल व्यवस्थापन,पुर्वाधार विकास, शिक्षा स्वास्थ्य लगायतका, बिभिन्न कार्यक्रमहरु नगरपालिकाको प्रमुख महत्व भित्र रहेको बताउनुभयो ।उहाले नागरिकलाई सहज सुविधा दिने कुरामा नगरपालिका निरन्तर लागिपरेको समेत बताउदै सार्वजनिक सुनुवाईमा उठेका विषय र आएका सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अगाडि बढ्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले जनताका गुनासोलाई यथासिघ्र संवोधन गरिने बताउनुभयो । उहाले आफूहरु साझा जनप्रतिनिधिको रुपमा रही जनताको असल सेवकको रुपमा लागिपरेको बताउदै नगरपालिकाका विकास निर्माणलाई थप प्रभावकारी बनाउन अनुगमनलाई निरन्तरता दिएको बताउनुभयो ।उहाले महिलामैत्री पुर्वाधार निर्माणलाई गतवर्षदेखि प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा सेवाग्राहीहरुले नगरपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकका अपेक्षा,कृषि,ढल,पुर्वाधार लगायतका विषयमा जिज्ञाशाहरु राखेका थिए । सेवाग्राहीहरुले नगरपालिकालाई नमुना नगरपालिका बनाउन अल्पकालिन र दिर्घकालिन योजना बनाई काम गर्नुपर्ने, बाँदर समस्या बढ्दै गएको, कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्न नसकेको, ढल निकासीमा भएको प्रक्रिया, शिक्षा, स्वास्थ्य,तानसेन ७ मा निर्माणाधिन शीत भण्डार भवन,प्रभास क्षेत्र संरक्षण लगायतका क्षेत्रका विषयमा जिज्ञाशाहरु राखेका थिए ।
कार्यक्रममा नगरपालिकाका पुर्वाधार शाखा प्रमुख राम प्रशाद श्रेष्ठले उठेका जिज्ञाशाको जवाफ दिदै विश्व बैंकको सहयोगमा डुम्रे तेल्घा गुफाचौर होलाङ्गदी पक्की सडक निर्माण कार्य अगाडी बढेको,तानसेन ५ बनदेवि क्षेत्रमा बन्दै गरेको बसपार्क निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रम सामाजिक विकास शाखा प्रमुख बरिष्ठ अधिकृत भरत आर्चायको संचालन, पत्रकार सन्तोष गहतराजको सहजिकरणमा चलेको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि,कर्मचारी,पत्रकार स्थानिय लगायतको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम तानसेन नगरपालिकाको वडा नम्बर ७ काे सभाहलमा सम्पन्न भएको हो ।








































Comments