तानसेन नगरपालिकाको हिउँदे नगरसभा सम्पन्न, दुई महत्वपूर्ण ऐन सर्वसम्मत पारित
पाल्पा — तानसेन नगरपालिकाको १८ औँ नगरसभाको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । हिउँदे नगरसभाका रूपमा सम्पन्न उक्त सभाले नगरको आर्थिक अनुशासन, वित्तीय उत्तरदायित्व तथा राजस्व व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण ऐन पारित गरेको छ । नगरसभा तानसेन नगरपालिकाको सभाहलमा बसेको थियो । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू तथा सम्बन्धित शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा बसेको सभामा प्रस्तुत भएका सम्पूर्ण विधेयक सर्वसम्मत रूपमा पारित भएका हुन् ।
सभामा नगरसभा सदस्य तथा तानसेन नगरपालिका–२ का वडाध्यक्ष महेश्वर श्रेष्ठले ‘तानसेन नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गर्नुभयो । उक्त विधेयकमार्फत नगरपालिकाको आम्दानी र खर्च प्रणालीलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । नगरपालिकाको बजेट कार्यान्वयन, आन्तरिक नियन्त्रण प्रणाली, लेखा परीक्षण तथा वित्तीय अनुशासनलाई बलियो बनाउने प्रावधानहरू समेटिएको विधेयक नगरको समग्र सुशासनका लागि महत्वपूर्ण हुने उहाँको भनाइ थियो । सभाका सदस्यहरूले विधेयकले नगरपालिकाको आर्थिक व्यवस्थापनलाई अझै व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका थिए ।
त्यसैगरी नगरसभा सदस्य तथा वडा नं. ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले ‘विज्ञापन कर व्यवस्थापन तथा नियमन विधेयक, २०८२’ प्रस्तुत गर्नुभयो । नगर क्षेत्रमा सञ्चालन हुने विभिन्न प्रकारका विज्ञापनबाट कर संकलनलाई व्यवस्थित गर्दै नगरको आन्तरिक आम्दानी बढाउने उद्देश्यले उक्त विधेयक ल्याइएको उहाँले बताउनुभयो । विज्ञापन सामग्रीको मापदण्ड, कर दर, संकलन प्रक्रिया तथा अनुगमनका विषयहरू विधेयकमा समेटिएको जनाउँदै उहाँले यसले नगरको सौन्दर्यकरण र राजस्व वृद्धिमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । नगरसभाका सदस्यहरूले विज्ञापन करलाई व्यवस्थित बनाउन आवश्यक रहेको भन्दै विधेयकको समर्थन गरेका थिए ।
सभामा नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले तानसेन नगरपालिकाको विनियोजन ऐन २०८२ को पहिलो संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उपप्रमुख सिंजालीले नगरपालिकाको साबिक विनियोजन एक अर्ब ४६ करोड ५० लाख ९६ हजार ८०७ रुपैयाँ रहेको जानकारी गराउँदै संशोधनपछि १ अर्ब ३९ करोड ३१ लाख ८० हजार ३०७ रुपैयाँ विनियोजन प्रस्ताव नगरसभामा पेस गर्नुभएको थियो । बजेट संशोधन स्थानीय आवश्यकता, प्राथमिकता र चालु तथा पुँजीगत कार्यक्रमको प्रभावकारितालाई ध्यानमा राखेर गरिएको उहाँले बताउनुभयो । न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले नगरमा आएका उजुरीहरू, मेलमिलापका प्रयास र समाधानका अवस्थाबारे समेत जानकारी गराउनुभयो ।
सभामा प्रस्तुत सबै विधेयक र प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका थिए । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सभामा उठेका विषयहरूमा जवाफ दिँदै नगरपालिकाले जनताको आवश्यकता र अपेक्षाअनुसार नीति तथा कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । उहाँले आर्थिक अनुशासन, पारदर्शिता र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । सभाको शून्य समयमा नगरसभा सदस्य माधव बस्यालले मात्र जिज्ञासा राख्नुभएको थियो । उहाँको जिज्ञासामा नगरप्रमुख श्रेष्ठले स्पष्ट जवाफ दिँदै आगामी दिनमा नगरपालिकाको सेवा प्रवाह र विकास गतिविधि अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








































Comments