तानसेन नगरपालिका वडा नं. ४ का जेहन्दार विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

पाल्पा – पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ४ मा रहेका जेहेन्दार तथा विपन्न दलित बालबालिकालाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरूलाई झोला, जुत्ता, स्विटर तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हाे । कार्यक्रम तानसेन नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा तथा सिल्खान २ टोल विकास संस्था, तानसेन पाल्पाको समन्वयमा सम्पन्न भएको हो ।

 

कार्यक्रमको उद्घाटन तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले गर्नुभएकाे हाे । उहाँले वडा कार्यालय तथा टोल विकास संस्थाहरूको सहकार्यमा सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले वडा नम्बर ४ भित्रका टोल विकास संस्थाहरूले गरेका विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रमहरूको प्रशंसा गर्दै नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तर दिने बताउनुभयो । वडा न ४ कै टोल विकास संस्थाले हरेक शुक्रबार आयोजना गर्दै आएको सडक महोत्सवले स्थानीय उत्पादनहरू प्रवर्द्धन गर्ने र महिलाहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्ने अवसर प्रदान गरिरहेको बताउनुभयो ।

 

तानसेन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले वडाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक योजना अनुरूप वडा नम्बर ४ मा अवस्थित मोहन कन्या माध्यमिक विद्यालय र बालमन्दिर प्राथमिक विद्यालयका ६० जना जेहेन्दार तथा विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो । उहाले वडा कार्यालयले आगामी दिनहरूमा पनि यस्ता लक्षित कार्यक्रमहरूलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने बताउनुभयो । वडाध्यक्ष शाक्यले भन्नभयाे ।, “शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । आर्थिक अवस्थाका कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु हुँदैन । यसकारण, हामीले शैक्षिक सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिँदै छौं।"उहाले बताउनुभयो । वडा कार्यालयले सिल्खान २ टोल विकास संस्थाको सहकार्यमा झोला, जुत्ता, स्विटर तथा अन्य शैक्षिक सामग्री वितरण गरेको बताउदै वितरित सामग्रीले विद्यार्थीहरूलाई अध्ययन गर्न सहज हुने विश्वास वडा कार्यालयले लिएको  बताउनुभयो । 

 

सिल्खान २ टोल विकास संस्था, तानसेन पाल्पाका अध्यक्ष गिता नेपालले टोल विकास संस्थाले शिक्षा प्रवर्द्धनमा निरन्तर काम गरिरहेको बताउँदै वडा कार्यालयको सहयोगले कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । वितरित शैक्षिक सामग्रीले विद्यार्थीहरूको पढाइमा सहजता ल्याउने बताउनुभयो । आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई यस्ता सहयोगले थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै  वडा कार्यालयसँगको सहकार्यमा आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिदै जाने अध्यक्ष नेपालले बताउनुभयो ।

 

कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ४ का वडा सदस्य सीता बस्नेत, वडा सदस्य हरिबहादुर थापा, विद्यालयका शिक्षक-शिक्षिका, अभिभावक तथा अन्य स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन टोल विकास संस्थाका सचिव अरुणा पाण्डेय भट्टराईले गर्नुभएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभएकाे थियाे ।

 

तानसेन नगरपालिका वडा नम्बर ४ मा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रमले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गरेको छ । शिक्षा प्रवर्द्धनका लागि स्थानीय सरकार र सामुदायिक संस्थाहरूको सहकार्यले महत्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजनासहित वडा कार्यालय र टोल विकास संस्था सहकार्य गरि अगाडि बढ्ने वडा सचिव वृन्दा खनालले बताउनुभयो ।

Comments