तानसेन-११ मा शौचालय उद्घाटन, स्वास्थ्य चौकी स्थानान्तरण र जेष्ठ नागरिक सम्मान

पाल्पा-तानसेन नगरपालिका-११ तीनलाकुरीमा सार्वजनिक शौचालय उद्घाटन, बन्दीपोखरा स्वास्थ्य चौकी वडा कार्यालयमा स्थानान्तरण तथा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष एवं नगर प्रवक्ता यादवसिंह कार्कीको अध्यक्षता तथा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष मेजरसिंह के.सी., विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, टोल विकास संस्था तथा सहकारी संस्थाका पदाधिकारीहरू, लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मी, जेष्ठ नागरिक तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

नगरपालिकाले स्थानीय बासिन्दा, यात्रु तथा पर्यटकका लागि सार्वजनिक शौचालय निर्माण गरेको छ । उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले स्वच्छता जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको बताउँदै अन्य वडाहरूमा पनि यस्ता पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । वडा कार्यालयले बन्दीपोखरा स्वास्थ्य चौकीलाई स्थानान्तरण गर्दै स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने शुरू गरेको छ । वडा अध्यक्ष कार्कीले सेवा प्रवाहलाई सहज बनाउन स्वास्थ्य चौकी स्थानान्तरण गरिएको बताउनुभयाे ।

 

कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूका टोलीले जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए । नगरपालिकाले जेष्ठ नागरिकहरूलाई सम्मानसमेत गरेको गरेको छ । नगर प्रमुख श्रेष्ठले जेष्ठ नागरिकहरू समाजका मार्गदर्शक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयाे ।कार्यक्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो । उहाहरूले सार्वजनिक शौचालय, स्वास्थ्य चौकी स्थानान्तरण र जेष्ठ नागरिक सम्मान कार्यक्रमबाट प्रत्यक्ष लाभ पुग्ने भन्दै स्थानीय सरकारको प्रयासको सराहना गरेका थिए ।

Comments