तानसेन–६ मा नागरिकता अभियान, कमला कामीलाई पहिलोपटक नागरिकता
पाल्पा – तानसेन नगरपालिका वडा नं ६ ले सुशासन र नागरिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले वडास्तरीय अभियान संचालन गरेको छ । यस अभियान अन्तर्गत वडामा विविध कारणले नागरिकता बनाउन नसकेका नागरिकहरूलाई सिफारिस गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रदान गर्ने कार्य तीव्र रुपमा अघि बढाइएको छ ।
वडाध्यक्ष सागरमान महर्जनका अनुसार, नागरिकताको पहुँचबाट टाढा रहेका, नागरिकताको महत्वबारे जानकारी नभएका र प्रक्रियागत जटिलताका कारण नागरिकता बनाउन नसकेका ७ जना व्यक्तिहरूलाई यस वर्ष नागरिकता वितरण गरिएको बताउनुभयो । उनीहरूलाई नागरिकता दिलाइसकेपछि सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरूसँग पनि जोडिएको जानकारी दिनुभयो ।
यसै क्रममा लामडाँडा निवासी करिब ५० वर्षीया कमला कामीले पहिलोपटक नागरिकता प्राप्त गर्नु भएको छ । करिब तीन वर्षअघि श्रीमानको निधन भएपछि विधवा भत्ता पाउनुपर्ने भए तापनि नागरिकता नहुँदा उहा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहनु भएको थियो । अहिले नागरिकता पाएपछि भने उहाले विधवा भत्ता लगायत अन्य सुविधामा पहुँच पाउनु हुने भएको छ । वडा सचिव विशाल ओलीका अनुसार, कमला कामीको घरमै पुगेर नागरिकता वितरण गरिएको थियो । त्यस अवसरमा वडाले त्रिपाल, सरसफाई सामग्री लगायतका राहत सामाग्री पनि वितरण गरेको बताउनुभयो र साथै, वडाले उहाँको आर्थिक अवस्था कमजोर भएकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो ।
कमला कामीले नागरिकता प्राप्त गरेपछि वडा कार्यालय, जिल्ला प्रशासन, प्रहरी, वडा सदस्यहरू तथा सहयोगमा संलग्न सम्पूर्ण स्थानीयहरूप्रति आभार व्यक्त गर्नु भएको।छ । वडा सदस्य सस्मिता गहतराज, रेखा विष्ट, गोमा गैरे र दीर्घसिं थापा मगरका अनुसार वडाले आगामी वर्षमा पनि नागरिकता लगायत अन्य महत्वपूर्ण कागजातहरू बनाउन नसकेका नागरिकहरूलाई लक्षित गरी यस्ता अभियानहरूलाई निरन्तरता दिने जनाउनु भएको छ ।








































Comments