तानसेन–४ का टोल विकास संस्थालाई सरसफाइ सामग्री वितरण

पाल्पा— तानसेन नगरपालिका वडा नं. ४ ले वडा क्षेत्रभित्रका टोल विकास संस्थाहरूलाई सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन सरसफाइ सामग्री वितरण गरेको छ । समुदायस्तरमै नियमित सरसफाइलाई प्रवर्द्धन गर्ने तथा स्वच्छ र सफा वातावरण निर्माणमा टोल विकास संस्थाको भूमिकालाई सशक्त बनाउने उद्देश्यले सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूलाई ८४ वटा डस्टबिन, ८४ वटा नरिवलका कुचो, ८४ वटा अम्रिसोका कुचो तथा ३० वटा फलामका स्ट्यान्ड वितरण गरिएको हो । वितरण गरिएका सामग्री टोल–टोलमा नियमित सरसफाइ, फोहोर व्यवस्थापन तथा सार्वजनिक स्थानको स्वच्छता कायम गर्न प्रयोग गरिने जनाइएको छ । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले सरसफाइ सभ्य समाजको आधार भएको उल्लेख गर्दै स्वच्छ वातावरण निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले वडा कार्यालयले पूर्वाधार विकाससँगै वातावरण संरक्षण र सरसफाइलाई पनि प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग गरी आफ्नो टोललाई सफा, व्यवस्थित र नमुना बनाउन सबै टोल विकास संस्थालाई आग्रह गर्दै उहाँले वडा कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले फोहोर व्यवस्थापन सरकार वा स्थानीय तहको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै घरदेखि सार्वजनिक स्थलसम्म सरसफाइको संस्कार विकास गर्न आवश्यक रहेको बताउनुभयो। टोल विकास संस्थाहरू स्थानीय विकासका महत्वपूर्ण साझेदार भएकाले उहाहरूको सक्रियताले वडा अझ स्वच्छ, सुन्दर र व्यवस्थित बन्ने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यक्रममा वडा सदस्य सीता बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्दै सरसफाइ सामग्रीले टोल विकास संस्थाहरूको नियमित सरसफाइ अभियानलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वच्छ वातावरणले स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले सबैले सरसफाइलाई दैनिक व्यवहारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सहभागी टोल विकास संस्थाका प्रतिनिधिहरूले वडा कार्यालयबाट प्राप्त सामग्रीको सदुपयोग गर्दै आफ्नो क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाहरूले समुदायको सहभागितामा नियमित सरसफाइ अभियान सञ्चालन गर्ने तथा फोहोर व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्ने योजना रहेको बताउनुभएको छ । कार्यक्रम तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा सदस्य सीता बस्नेतले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव सविना पुलामी मगरले गर्नुभएको थियो। कार्यक्रममार्फत वितरण गरिएको सरसफाइ सामग्रीले वडा नं. ४ लाई स्वच्छ, सफा र वातावरणमैत्री बनाउने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comments