श्रमिक दिवसमा सेवा भावको सम्मान: नीलसागर सेवाश्रममा फलफूल वितरण
पाल्पा -आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस नेपाल सहित विश्वभर मनाइँदै छ । आजकाे दिन श्रमिकका न्यानो हातहरूलाई सम्झने, उनीहरूको योगदानलाई सम्मान गर्ने दिन हाे । यसैबीच पाल्पाको तानसेन नगरपालिका–१ मा रहेको नीलसागर सेवाश्रममा श्रमिक दिवस केही फरक शैलीमा मनाइएकाे छ । दिवसकाे अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाले फलफुल वितरण गरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हाे । ट्रेड युनियन काङ्ग्रेस पाल्पाले सामाजिक उत्तरदायित्वका रूपमा लिँदै सेवा आश्रममा रहेका २१ जना वृद्धवृद्धालाई फलफुल वितरण गरेकाे हाे । कार्यक्रम केवल फलफुल बाँड्ने कार्यक्रम थिएन, त्यो थियो भावनाको आदान–प्रदान, जहाँ श्रमिक दिवसलाई हृदयस्पर्शी स्पर्श दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठको अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभरका श्रमिकहरूको अधिकार, योगदान र सम्मानका लागि समर्पित विशेष दिन रहेको बताउनुभयो । उहाले श्रमिक बिना समाजको विकास सम्भव नरहेको बताउदै मुलुकको समृद्धि र प्रगतिमा श्रमिकहरूको अतुलनीय योगदान रहँदै आएको बताउनुभयाे । श्रमिकले चाहे कृषि होस्, निर्माण क्षेत्र होस्, वा उद्योग व्यवसाय श्रमिकको पसिनाबाट नै देश अघि बढिरहेको छ तर, अझै पनि श्रमिक वर्गले उचित सम्मान, पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति पाउन नसकेको बताउदै यसतर्फ सरकार र समाज दुवैले गम्भीर ध्यान दिन आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसले श्रमिक वर्गको हितमा निरन्तर आवाज उठाउँदै आएको छ र आगामी दिनहरूमा पनि श्रमिक अधिकार सुनिश्चित गर्न सधैं प्रतिवद्ध रहने बताउनुभयो । अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले सामाजिक उत्तरदायित्वको भावना अनुरुप सेवाश्रममा पुगी फलफुल वितरण गरी उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष दीपक ज्ञवाली, ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य टुन वीर रेश्मी, निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य दिनेश गन्धर्व, प्रेस युनियन पाल्पाका सभापति मन गहिरे, तानसेन वडा न १ का वडा सदस्य राम प्रसाद पाण्डे र सेवाश्रमका सञ्चालक प्रकाशनाथ गंगोल,युनियनकी उपाध्यक्ष सरस्वती राज भण्डारी,उपाध्यक्ष सुनिल बुढाथोकी, सुनिता राणा र कोषाध्यक्ष लिला बहादुर राना लगाएतले सम्मान र सामाजिक सेवाको यो समागममा सहभागी रहनु भएको थियाे । कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन काङ्ग्रेस पाल्पाका सचिव लोकनाथ अधिकारीले सञ्चालन गर्नु भएको थियाे भने, अध्यक्षता सभापति नीलकण्ठ देवकोटाले गर्नुभयो । श्रमिकको श्रमको कदर गर्नु र समाजका हरेक तहमा सेवा भावनाको सन्देश फैलाउने हेतुका साथ कार्यक्रम गरिएको नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका अध्यक्ष नीलकण्ठ देवकोटाले बताउनुभयो।








































Comments