श्री रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः अशोक महर्जन चयन

पाल्पा — श्री रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा अशोक महर्जन सर्वसम्मत रूपमा पुनः चयन हुनुभएको छ । शनिबार पाल्पाको तानसेनमा सम्पन्न गुठीको अधिवेशनले महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको सचिवमा सुरेश लिगल, कोषाध्यक्षमा सोनित प्रधान तथा सदस्यहरूमा सुरेन्द्र राजलवत र करन चित्रकार चयन हुनुभएको छ । अधिवेशनमा गुठीका सदस्य, स्थानीय समाजसेवी तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

लामो समयदेखि धार्मिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका महर्जन पुनः अध्यक्षमा चयन हुनु गुठीको निरन्तरता, स्थायित्व र संस्थागत मजबुतीका लागि सकारात्मक मानिएको छ । नव–निर्वाचित कार्यसमितिले गुठीको सम्पत्ति संरक्षण, धार्मिक गतिविधिको व्यवस्थित सञ्चालन तथा पारदर्शी प्रशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ । साथै भगवती खटयात्रा, पूजा–अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरूलाई मर्यादित र व्यवस्थित रूपमा अघि बढाइने जनाइएको छ ।

 

अधिवेशनका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले रणउजिरेश्वरी भगवती गुठी तानसेनको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण संस्था भएको बताउनुभयो । उहाँले गुठीहरू केवल धार्मिक संस्थामात्र नभई समाजलाई एकताबद्ध बनाउने आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । पाल्पाली प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा अंग्रेजसँग भएको युद्धमा विजय हासिल गरेको सम्झनामा निर्माण गरिएको रणउजिरेश्वरी भगवती मन्दिर र यहाँ निकालिने रथयात्रा पश्चिमाञ्चलकै महत्वपूर्ण ऐतिहासिक पर्व भएको उहाँको भनाइ थियो ।

 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरभित्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण नगरपालिकाको प्राथमिकता रहेको बताउँदै गुठीका कार्यक्रमहरूमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गा खनालले गुठीको नाममा रहेका जग्गा तथा सम्पत्तिको संरक्षण, अभिलेखीकरण र कानुनी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नव–निर्वाचित अध्यक्ष अशोक महर्जनले सबैको सहयोग र सुझावका साथ गुठीको गरिमा, धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

 

इतिहासअनुसार, विसं १८७१ पुसदेखि १८७२ जेठसम्म अंग्रेजसँग भएको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा नेपालले विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रूपमा रणउजिरेश्वरी भगवती जात्रा मनाइँदै आएको छ । युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनस्थित भगवती देवीको पाउ छोई विजय भएमा मन्दिर निर्माण गरी सिन्दूर जात्रा सञ्चालन गर्ने भाकल गर्नुभएको थियो । युद्धमा दुईपटक विजय प्राप्त गरेपछि उहाँले विसं १८७२ देखि १८७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गराउनुभएको हो । त्यसयता विसं १८७७ देखि प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीका दिन विजय उत्सवका रूपमा भगवती जात्रा निकालिँदै आएको छ । अंग्रेजमाथिको विजयको प्रतीकका रूपमा सञ्चालन हुँदै आएको यो जात्राका कारण मन्दिर ‘रणउजिरेश्वरी’ नामले परिचित रहँदै आएको छ ।

Comments