शनिवार काेरा पाल्पा हुँदै, सय साइकल यात्री सहभागी हुने !

पाल्पा- यामाहा बाइककाे आधिकारिक विक्रेता ज्ञानेन्द्र अटाेवर्ककाे मुख्य प्रायोजन तथा शारस वेभरेजकाे सह प्रायाेजन र पाल्पा जिल्ला साइक्लिङ्ग संघकाे आयोजनामा कोरा पाल्पा हुने भएको छ । यहि साउन ५ गते शनिबार ‘पैदल र पेडल मैत्री शहर’ भन्ने मुख्य नाराका साथ कोरा पाल्पा  हुन लागेकाे हाे ।

 

कोरा पाल्पामा देशका विभिन्न जिल्लाहरूका साइकलिस्टहरूले पनि सहभागिता जनाउँदै छन् । पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले साइक्लिङ्ग संघ पाल्पाले कोरा पाल्पा आयाेजना गर्न लागेको पाल्पा जिल्ला साइक्लिङ्ग संघका सचिव बिज्ञान बज्राचार्य बताउनुभयो  । शनिबार हुने काेरा पाल्पाका लागि नवलपरासी,रूपन्देही,काठमाडौ लगाएतका जिल्लाबाट झण्डै  एक सय जना सहभागीले नाम दर्ता गराइसकेकाे बताउनुभयो  ।

 

साइकिलिङ्ग संघ पाल्पाका अध्यक्ष रूपेश महर्जनका अनुसार यो पटकको कोरा पाल्पामा सहभागीहरूको संख्याले ऐतिहासिक रेकर्ड कायम गर्ने बताए । सामान्य साइकल यात्रीको लागि मात्रै नभएर साइकल कै माध्यमबाट साहसिक आनन्द लिन खोज्नेहरुका लागि पनि तानसेन नगरपालिकाको भू बनोट एकदमै सुहाउदो भएको साइकल खेल संगै आबद्ध विज्ञहरुको भनाइ छ । तानसेन नगरपालिकामा ट्रेल राइड संगसंगै, उकालो चढ्ने, ओराली झर्नेको मजा लिन सकिन्छ र यसका लागि विभिन्न बाटी निर्धारण गरि बनाउने तयारी गरिएको बताए । 

 

उनले भने हाम्रो यस सुन्दर पर्यटकीय नगरी तानसेन नगरपालिकामा यहांको विभिन्न धार्मिक, ऐतिहासिक प्राकृतिक महत्व बोकेको स्थानहरुको प्रचार प्रसार गर्ने हेतुले राष्ट्रिय स्तरको साइकल प्याली कार्यक्रमको आयोजना गर्न लागिएको हाे । हालको अवस्थामा स्वास्थ्यको लागि साइकल भन्ने कुरा धेरै जसोले बुझि सक्नुभएको छ । साइकल चलाउने वानी गर्नाले शारीरिक तन्दुरुस्ती मात्र नभई अन्य स्वास्थ्यसंग सम्बन्धित फाइदाहरु हुने बताए ।

 

सन् २०११ देखि काठमाडौंबाट शुरू भएको कोरा साइक्लिङ च्यालेन्ज नेपालको २० भन्दा धेरै शहर र नेपाल बाहेक सिंगापुर, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत लगायतका देशमा पनि हुने गरेको छ । नेपाली माटोबाट शुरू भएको कोरा साइकल च्यालेन्ज एक पृथक साइक्लिङ कार्यक्रम हो । यस कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउने र वातावरणमैत्री यातायातका साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको पाल्पा साइकलिङ संघका काेषाध्यक्ष निरज मल्ल बताउनुभयाे  । कोरा पाल्पाले साइक्लिङलाई मात्र प्रोत्साहन गर्ने होइन, पाल्पालाई पनि नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको बताए । (कोरा शब्दले साइकलमा यात्रा गरि परिक्रमा गर्ने भन्ने बुझाउँछ ।)

Comments