संविधान र संघीयताको रक्षार्थ नेपाली कांग्रेस पाल्पाको मौन प्रदर्शन
तानसेन — संविधान दिवसको अवसरमा नेपाली कांग्रेस पाल्पाले तानसेनको आन्दोलनचोकमा मौन प्रदर्शन गर्दै संविधान, लोकतन्त्र, संघीयता, सुशासन र समावेशिताको संरक्षणका लागि आह्वान गरेको छ । कार्यक्रममा जिल्ला स्तरीय नेता, विद्यार्थी नेता र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । काङ्गेस पाल्पाले विपि स्मृति भवन तानसेनमा अन्तरक्रिया कार्यक्रम गरि र्यालि सहित आन्दोलनचोकमा पुगी मौन प्रदर्शन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्गेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तले संविधानलाई नेपाली जनताको लामो संघर्ष, बलिदान र पसिनाबाट जन्मेको साझा गौरव भएको उल्लेख गर्दै यसको रक्षा सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान केवल कानुनी दस्तावेज होइन, यो जनताको आशा, सपना र अधिकारको संरक्षक हो । यसको रक्षा गर्नु भनेको हाम्रो लोकतन्त्र, गणतन्त्रलाई जोगाउनु रहेको बताउनुभयो । उहाले अधिकारले मात्र राष्ट्र बलियो नहुने बताउदै जिम्मेवारी पूरा गरेर मात्र राष्ट्र समृद्ध हुने बताउनुभयो । नेपाली कांग्रेस सधैं संविधानको रक्षा र संरक्षणमा अग्रपंक्तिमा रहने बताउनुभयो ।
विशिष्ट अतिथि नेपाली काङ्गेस पाल्पाकन निवर्तमान जिल्ला सभापति वीर बहादुर रानाले संविधान र लोकतन्त्रको संरक्षणसँगै सुशासन र जवाफदेहिताको महत्वमा जोड दिनुभयो । उहाँले भन्नुभयो लोकतन्त्र केवल प्रणाली होइन, यो हाम्रो जीवनशैली रहेको कुरा स्मरण गराउनुभयो । सुशासन भनेको कानुनी शब्द मात्र नभई व्यवहारमै देखिनुपर्ने चरित्र रहेको बताउनुभयो । उहाले जेन्जी आन्दोलनले केवल विरोधको आवाज नभई विचारको आन्दोलन रहेको स्पष्ट पार्दै मुलुकलाई सुधार्न नेतृत्व र दलहरूको सोच बदलिनुपर्ने र स्वार्थभन्दा माथि उठ्नुपर्ने शिक्षा दिएको बतउनुभयो । उहाले लोकतन्त्र दलबिना सम्भव नभएको तर दलभन्दा माथि विचार र मूल्य हुनुपर्ने बताउनुभयो । विचारमा आधारित राजनीति मात्र देशलाई सही दिशातर्फ लैजान सक्ने बताउनुभयो ।
रानाले संविधानको सुरक्षा कागजमा मात्र सीमित नभई जीवनमा अनुभव हुने हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जब संविधान सुरक्षित हुन्छ जब नागरिकहरूले यसको अधिकार, अवसर र न्याय आफ्नै जीवनमा महसुस गर्ने बताउनुभयो । नेताहरूले आचरण सुधार्न सके संविधान बलियो हुने र सुधार्न नसके कमजोर हुने बताउदै सचेत भएर अघि बढ्यौं भने संविधानले देखाएको बाटोले स्थायी शान्ति, सुशासन र समृद्ध नेपाल सुनिश्चित गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालय दत्त श्रेष्ठले संविधान नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक र लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो । उहाँले संविधानले नेपाली जनतालाई अधिकार मात्र दिएको छैन, जिम्मेवारी पनि दिएको बताउदै संविधान हाम्रो साझा अभियान, राष्ट्रिय पहिचान र लोकतन्त्रको आधारशिला रहेको बताउनुभयो ।
नेपालको संविधानले सुशासन, शान्ति, समानता र समृद्ध नेपाल निर्माण गर्ने आधार खडा गरेको बताउदै संविधान दिवस केवल उत्सवको दिन मात्र नभई जनताको बलिदान र आन्दोलनको सम्झनासँगै हाम्रो कर्तव्य र जिम्मेवारीलाई स्मरण गर्ने अवसर रहेको बताउनुभयो । उहाँले वर्तमान समयमा संविधानको प्रभावकारी कार्यान्वयन, सुशासनको सुनिश्चितता र राजनीतिक स्थायित्वका लागि सबै दल र नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
विपि स्मृति भवन तानसेन पाल्पामा अन्तरक्रिया कार्यक्रम समापन पश्चात तानसेन स्थित आन्दोलनचोकमा जिल्ला स्तरीय नेता,विधार्थी नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा मौन प्रदर्शन गरिएको थियो । भने जेन्जी आन्दोलनमा सहिद भएका विधार्थीहरूको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएके थियो ।
कार्यकमको सञ्चालन पाटी सचिव सुनिता अधिकारीले गर्नुभएको थियो । भने स्वागत पाटीका उपसभापति ज्ञान बहादुर गाहाले गर्नुभएको थियो ।








































Comments