स्वास्थ्य, शिक्षा र पर्यटन एकीकृत गर्न व्यवसायीक मोडल आवश्यक: मन्त्री शारू

पाल्पा–लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम शारूले स्वास्थ्य , शिक्षा र पर्यटनलाई एकीकृत गर्दै व्यवसायीक मोडलमा अघि बढ्न सके स्थानीय अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पाल्पा व्यापार संघ तानसेनको आठौँ साधारण सभामा सम्बोधन गर्दै उहाँले डिजिटल व्यापारको वर्तमान युगमा परम्परागत सोच मात्र पर्याप्त नहुने र नविन व्यवसायीक अवधारणामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शारूले नागरिकको रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको र विश्वासयुक्त खानेकुराको प्रयोग बढ्दै गएको अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुका साथै स्वास्थ्यसम्बन्धी शिक्षामा लगानी गर्नु अति आवश्यक भएको बताउनुभयो । “स्वास्थ्य, शिक्षा र पर्यटनलाई एक अर्कासँग जोडेर व्यवस्थित रूपमा अघि बढाउन सकियो भने यसले रोजगारी सिर्जना गर्छ र स्थानीय अर्थतन्त्र मजबुत बनाउँछ,” उहाँले भन्नुभयो ।

 

उहाँले तानसेन लगायत पहाडी क्षेत्रहरूमा स्वास्थ्य पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो । यहाँको स्वच्छ वातावरण, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यलाई स्वास्थ्य सेवासँग जोड्न सके देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकलाई पनि आकर्षित गर्न सकिने उहाँको धारणा थियो । उहाँले देशको व्यापार घाटा बढ्दो अवस्थामा रहेको भन्दै आन्तरिक उत्पादन र व्यापार प्रवर्द्धन नगरेसम्म समस्या समाधान नहुने स्पष्ट पार्नुभयो । पाल्पाका करुवा र ढाका जस्ता मौलिक उत्पादनहरू लोपोन्मुख अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै ती उत्पादनको संरक्षण, प्रवर्द्धन र बजार विस्तार आवश्यक रहेको उहाँले बताउनुभयो । उत्पादन प्रवर्द्धनका लागि स्पष्ट र दीर्घकालीन नीति अझै बन्न नसकेको स्वीकार गर्दै अब सरकार, व्यापारी र उद्योगीबीच सहकार्य अपरिहार्य भएको उहाँले जोड दिनुभयो । “नीति निर्माण सरकारको मात्र जिम्मेवारी होइन, यसमा निजी क्षेत्रको सक्रिय भूमिका हुनुपर्छ,” मन्त्री शारूले भन्नुभयो । 

 

कार्यक्रमका मुख्य अतिथिमा लुम्बिनी प्रदेश सांसद बिर बहादुर रानाले स्थानीय व्यापार र उत्पादन बढाउन सरकार र व्यापारीबीच मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बताउनुभयो, “स्थानीय उद्योगलाई प्रोत्साहन दिनु पर्छ, यसैबाट जिल्लाको अर्थतन्त्र बलियो हुन्छ । व्यापारी र सरकारले सँगै योजना बनाउनु जरुरी रहेको बताउदै उत्पादनलाई बजारसम्म पुर्‍याउने उपाय मिलाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताउनुभयो । 

 

तानसेन नगरपालिका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले स्थानिय उत्पादन र पर्यटन प्रवर्द्धनले पाल्पाको आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने बताउदै यसका लागि सबै पक्षले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभयो  । उहाले भन्नुभयो 'स्थानीय स्रोत र प्रतिभालाई उपयोग गर्ने वातावरण तयार गर्नुपर्छ । व्यापार र पर्यटनको सहकार्यले रोजगारी सिर्जना गर्न सक्ने बताउदै  सुदृढ अर्थतन्त्र निर्माणमा नगरपालिकाले जिम्मेवार भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे, नेकपा एमाले पाल्पाका उपाध्यक्ष बिमल काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, संघका निवर्तमान अध्यक्ष बामदेब बस्याल, पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेल र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सिना रहेका थिए । कार्यक्रम व्यापार संघका अध्यक्ष विष्णु कार्कीको अध्यक्षतामा र महासचिव तुल बहादुर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । 

Comments