सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेतना
पाल्पा । दुर्घटना न्यूनीकरणका लागी सवारी चालकलाई सचेतना अभिबृद्धीका लागी सडक सुरक्षा सतर्कता सम्बन्धि प्रशिक्षण दिईएको छ । श्रीनगर यातायात सेवा कम्पनी प्रा लि अन्तर्गतका सवारीचालक लाई सचेतता तालिम दिइएको हो । तानसेनमा भएको एक दिने प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ, यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्ण प्रसाद आचार्य र श्रीनगर यातायात सेवा कम्पनी प्रा लि का कम्पनी सचिब भबिन्द्र गौतमले प्रशिक्षण दिनुभएको थियो ।
श्रीनगर यातायात सेवा कम्पनीका अध्यक्ष डिल बहादुर ढुङ्गानाले सार्बजनिक यातायातको यात्रा सुरक्षित बनाउन सवारीका चालक, सहचालकहरु जिम्मेवार बन्न आग्रह गर्नुभयो । सडकमा हुने लापरबाहीले दुर्घटना बढेकोले यसको नियन्त्रण गर्न चालक मजदुर नै जिम्मेवारी हुनुपर्ने अध्यक्ष ढुङ्गानाले बताउनुभयो । चालकको लापरबाहीले धेरै दुर्घटना हुने गरेकाले चालकहरुलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । प्रशिक्षणका क्रममा सडक सुरक्षा, ट्राफिक चिन्हको जानकारी, सवारीको क्षमता, ओभरटेक गर्ने तरिका, दुर्घटना पछि हुने कानुनी प्राबधान, ऐनमा भएको ब्यवस्थाका बारेमा चालकहरुलाई जानकारी गराइएको थियो । यस्तै कार्यक्रममा सिट क्षमता अनुसार यात्रु चढाउन, यात्रुलाई टिकटको अनिवार्य ब्यवस्था गर्न, निर्धारण भएको भन्दा धेरै भाडा नलिन चालकलाई श्रीनगर यातायातले आग्रह गरेको छ । पाल्पामा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको तथ्यांक छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा मन्त्रालयका सञ्चार माहाशाखा प्रमुख कालिदस बस्यालले प्रशिक्षण कार्यक्रमबाट दुर्घटना न्यूनीकरणमा सहयोग हुने बताउनुभयो । जिल्ला प्रशासनकार्यालय पाल्पाका नायब सुब्बा मनोज आचार्यले कार्यक्रममा सम्बोधन गर्दै मानबिय त्रुटीबाट हुने दुर्घटनालाई रोक्न यस्ता कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा मजदुर प्रतिनिधि एकादेब पाण्डेले दुर्घटना हुने कारण चालकको मात्र दोस नभै सडक, सवारिको अवस्था पनि मुख्य कारण रहेको बताउनुभयो । कार्यक्रममा पाल्पाका १ सय ४१ जना सवारी चालक तथा सहचालकहरु सहभागी भएका थिए ।








































Comments