स्व. टिकाराज गैरेको सम्झनामा नेपाली कांग्रेस पाल्पाद्वारा श्रद्धाञ्जली सभा

पाल्पा — नेपाली कांग्रेस पाल्पाले पार्टीका सल्लाहकार स्वर्गीय टिकाराम गैरेको स्मृतिमा शुक्रबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ । रिब्दिकोट गाउँपालिका–१ स्थित स्व. गैरेको निवासमै सम्पन्न कार्यक्रममा पार्टीका नेतादेखि स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस रिब्दिकोट वडा नं. १ का सभापति पदमप्रसाद न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ सहभागी हुनुभएको थियो । शाेक सभामा पाटीका प्रवक्ता शोभाकर न्यौपाने, महासमिति सदस्य विधान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि शिवचन्द्र खनाल र कान्ता अधिकारी, जिल्ला सदस्य कमल राना र गिरिजा गैरे, प्रदेशसभा सदस्य भानुभक्त पाण्डेय, आमन्त्रित सदस्य विष्णु पराजुली, तानसेन वडा नं. १४ का सभापति दधिराम न्यौपाने, तानसेन नगर समिति सदस्य हरि पराजुली लगायतको सहभागिता रहेको थियो ।

 

स्व. गैरे २०४६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहँदै पार्टीको विभिन्न तहमा सक्रिय रूपमा क्रियाशील रहनुभएको थियो । उहाँले वडा, गाउँपालिका र जिल्ला तहसम्मका जिम्मेवारी सम्हाल्दै संगठन सुदृढीकरणमा उल्लेखनीय योगदान दिनुभएको थियो । राजनीतिक जीवनसँगै उहाँले सामाजिक सेवामा पनि अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । रिब्दिकोट क्षेत्रको शिक्षा, स्वास्थ्य, बाटो र अर्गली कुला निर्माणजस्ता क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको स्थानीयवासीहरूले उच्च मूल्याङ्कन गरेका छन्  

 

श्रद्धाञ्जली सभामा बोल्दै नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले स्व. गैरेको निधनले पाल्पाको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको बताउनुभयो । “गैरे पार्टीका लागि सधैं समर्पित, इमानदार र अनुशासित व्यक्तित्व हुनुहुन्थ्यो,” सभापति श्रेष्ठले भन्नुभयाे , “उहाँको योगदानले पाल्पा कांग्रेसको संगठनात्मक जग बलियो बनाउन ठूलो भूमिका खेलेको छ ।” अन्य वक्ताहरूले पनि स्व. गैरेको जीवनबाट प्रेरणा लिनुपर्ने र उहाँको त्याग, अनुशासन र सेवाभावलाई पार्टी र समाजका लागि मार्गदर्शनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा सहभागीहरूले स्व. गैरेको तस्वीरमा माल्यार्पण गर्दै एक मिनेट मौनधारण गरेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्त्यमा उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । श्रद्धाञ्जली सभाले स्व. गैरेको योगदान र व्यक्तित्वलाई स्मरण गर्दै पाल्पाको राजनीतिक इतिहासमा उहाँले छोडेको प्रेरणादायी पाटोलाई पुनः उजागर गरेको सहभागीहरूले बताएका छन् ।

Comments