सिद्धबाबामा पहिरोले लाग्दा एक जनाको मृत्यु, एक घाइते
पाल्पा-पाल्पाको तिनाउ–३, माथिल्लो सिद्धबाबा नजिकै पहिरोले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–६, का ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै सोही स्थानकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । मंगलबार बेलुकी ६ बजेतिर बुटवलबाट पाल्पातर्फ आउने क्रममा तिनाउ गाउँपालिका–३, माथिलो शिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई लागेको थियो ।
पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीको मृत्यु भइसकेको थियो ।
चापागाईको उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सो क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । पानी परेको बेलामा जुनसुकै बेलामा पहिरो खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको हो ।








































Comments