स्थानीयको श्रमदान देखेर 'रामपुरका मेयर प्रभावित

रामपुर – अहिलेको समयमा पनि सामुदायिक एकताको उदाहरण प्रस्तुत गर्दै रामपुर नगरपालिका वडा न ४ को मिलनचोक पार्क कम्पाउण्ड निर्माणका लागि सबै गाउँलेहरू मिलेर श्रमदान गरिरहेका छन् । मिलनचोक पार्क कम्पाउण्ड निर्माणका लागि नगरपालिकाबाट चालू आर्थिक बर्षमा रूपैयाँ १ लाख २५ हजार बजेट बिनियाेजन भएको थियाे । अहिले मिलनचाेक पार्ककाे कम्पाउण्ड निर्माण गर्न गाउँहरू मिलेर श्रमदान गरिरहेका छन । 

 

यस कार्यको अनुगमन गर्न रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा स्वयं पार्क निर्माण स्थलमा पुग्नु भयाे । स्थानीयले काम गरिरहेको देखेर मेयरले गाउँलेहरूको समर्पण र सामूहिक प्रयासको प्रशंसा गर्नुभयाे ।  अनुगमनका क्रममा मेयरले थापाले भन्नुभयाे,"सामुदायिक श्रमदानको यो प्रयास अत्यन्त सराहनीय छ । यस कार्यलाई पूर्णता दिन थप बजेटकाे आवश्यक पर्ने स्थानीयहरूकाे भनाई अनुसार आगामी बजेटमा नगरपालिकाले आवश्यक बजेट छुट्टाउने आश्वासन दिनुभयाे ।"

 

स्थानीय श्रमदाताहरूले मेयरको यस घोषणाप्रति खुशी व्यक्त गर्दै सामुदायिक विकासका लागि थप उत्साह प्राप्त भएको बताएका छन् । मिलनचाेक पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बल बहादुर नेपालीले मिलन चोक पार्क निर्माण गाउँका सबैका लागि एउटा महत्वपूर्ण परियोजना रहेको बताउनुभयो । यसले सामुदायिक गतिविधिहरू,खुला जिम निर्माण र मनोरञ्जनका लागि अवसर प्रदान गर्ने बताउनुभयो ।

 

मिलनचाेक पार्क निर्माण उपभोक्ता समितिका सचिव सीता रूचालले "सामूहिक प्रयासले मात्र दिगो विकास सम्भव छ। नगरपालिकाको यो सहयोगले हाम्रो कामलाई गति दिनेछ।"यस प्रकारको सहकार्यले स्थानीय विकासका लागि जनता र सरकारबीचको साझेदारीलाई थप सुदृढ गर्ने विश्वास गरेकाे बताइन । अनुगमनमा नेपाली काङ्ग्रेसका माहासमिती सदस्य,युवा व्यवसायी पुरुसोत्तम केसी,युवा व्यवसायी प्रकाश ज्ञवाली,पत्रकार लगाएतको उपस्थिति रहेको थियाे ।

Comments