सत्यवती बजैको दर्शनबाट पाल्पामा कांग्रेसको चुनावी अभियान सुरु

पाल्पा, ४ फागुन । नेपाली काङ्गेस पाल्पाका दुईवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले सत्यवती बजै मन्दिरमा दर्शन गरी संयुक्त रूपमा चुनाव प्रचारप्रसार अभियानको सुरुवात गर्नुभएको छ । पाल्पा जिल्ला  क्षेत्र नं. २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ र क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानासहितको टोलीले तिनाउ गाउँपालिका वडा नं. ४ स्थित मन्दिरमा पूजा–अर्चना गरी पहिलो चुनावी सभा सम्पन्न गर्नुभएको हो । 

 

सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले आफ्ना बाबुआमाले सत्यवती मन्दिरमा भाकल गरेपछि आफू जन्मिएको विश्वास रहेको उल्लेख गर्दै भावनात्मक सम्बन्धकै कारण यहीँबाट अभियान सुरु गरेको बताउनुभयो । उहाले सत्यवती क्षेत्रको विकास र जनताको सुखदुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी आन्दोलनपछि नयाँ सोच र १० वर्षे योजनासहित कांग्रेस अघि बढेको दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बनाउन कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो । 

 

क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले धार्मिक आस्था र सत्यवती बजैप्रतिको विश्वासका कारण आफू फरक क्षेत्रमा उम्मेदवार भए पनि यहीँबाट प्रचार सुरु गरेको बताउनुभयो । उहाले पाल्पालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्नुभयो । 

 

तिनाउ गाउँपालिका वडा नं. ४ का सभापति देवसिं दर्लामीको सभापतित्व तथा केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व सांसद हरिप्रसाद नेपाल,पुर्व मन्त्री बिरबहादुर राना,नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे,क्षेत्रीय सभापति मुक्तिराम जिसी,पार्टीका तिनाउ गाउँपालिका सभापति प्रेम पाण्डे,स्थानीय नेता दानबहादुर गाहा,महिला नेत्री रिमा सुनारलगयतले जेनजीकाे मर्म र भावनालाई आत्मसात गर्दै बदलिएको कांग्रेसले देशको अवस्था बदल्ने योजनासहित चुनावमा मिएकाले कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्नुभयाे । प्रचारप्रसारका क्रममा सत्यवती गाउँमा घरदैलो अभियान सञ्चालन गरी मतदातासमक्ष रुख चिन्हमा मत मागिएको थियो । 

Comments