सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नारायण माविलाई

तानसेन : रिव्दीकोट गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नारायण मावि धुस्टुङले हात पारेको छ। १३ वटा विद्यालयलाई पछि पार्दै धुस्टुङको नारायण माविले ५ स्वर्ण, ५ रजत, ३ कास्य गरी १३ पदक सहित प्रथम स्थान हासिल गरेको हो। यसैगरी प्रतियोगितामा खस्यौलीको सरस्वती मावि ५ स्वर्ण, ५ रजत, ९ पटक सहित दोस्रो र ५ स्वर्ण, १ रजत, ३ कास्य गरी ९ पदकसहित देउरालीको दुर्गा भवानी मावि तेस्रो भयो । 

 

विजेता विद्यालय तथा खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रवक्ता प्रकाश रायमाझी, वडाध्यक्षहरु, शिक्षा अधिकृत टिकाराम आचार्य, रिव्दीकोट खेलकुद विकास समितिका अध्यक्ष दीपक पचभैया लगायतले नगद पुरस्कार तथा मेडल, प्रमाणपत्र रनिङ शिल्ड प्रदान गरे । 

 

पालिकाबाट खेल मैदानको समयमै निर्माण सम्पन्न गरेकोमा निर्माण व्यवसायी तथा खेल मैदान संरक्षण तथा व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो। शिक्षा शाखाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न २६ विधाका खेलहरूमा ३ सय विद्यार्थीले सहभागिता जनाएको शिक्षा शाखा प्रमुख आचार्यले बताए। 

Comments