सञ्चारकर्मी तथा सञ्चार गृहमा आक्रमण गर्नेलाई कानुनी कठघरामा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापन
पाल्पा —राजावादी समूहको प्रदर्शनका क्रममा सञ्चारकर्मी तथा सञ्चार गृहमा भएको आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचार गर्न नेपाल पत्रकार महासंघ पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पामार्फत् प्रधानमन्त्री तथा मन्त्रपिरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।
पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीमार्फत् ज्ञापनपत्र सोमबार बुझाएको हो । यही चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले कान्तिपुर टेलिभिजन र अन्नपूर्णपोस्टका कार्यालयमा ढुंगामुढा गरी क्षति पुर्याएको थियो ।
भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको छ भने हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुर्याइएको छ । पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको छ भने फोटो पत्रकार निराज तामाङको म्यामेरा हराएको लगायतका घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत् बुझाएको ज्ञापनपत्रमा ज्यान गुमाएका पत्रकारकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । साथै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारकोउपचारको प्रबन्ध मिलाउन माग गरिएको छ ।








































Comments