समुदाय स्तरमा पुगेर कृषक समूहलाई क्षमता अभिवृद्धि तथा दिगो कृषि अभ्यास तालिम

पाल्पाको तानसेन नगरपालिकामा सञ्चालित तानसेन आर्थिक विकास परियोजना अन्तर्गत तानसेन–७ पिपलटारी कृषक समूहलाई क्षमता अभिवृद्धि तथा दिगो कृषि अभ्याससम्बन्धी तालिम प्रदान गरिएको छ । तानसेन नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा तथा ग्रामीण आर्थिक विकास संघ (REDA) को सहजीकरणमा परियोजना सञ्चालन भइरहेको हो । परियोजनाले समुदाय स्तरमै पुगेर हेफरका १२ आधारशिलामा आधारित तालिम सञ्चालन गरेको छ ।

 

ग्रामीण आर्थिक विकास संघ (REDA) का सामुदायिक सहजकर्ता सुरक्षा बिष्टका अनुसार पिपलटारी कृषक समूहका २५ जना कृषकलाई लक्षित गरी १८ हप्ते कृषक व्यवसायी पाठशाला सञ्चालन गरिएको हो । तालिममा माटो परीक्षण, बजारीकरण, वायु चार्ट प्रयोग, वनस्पति विषादी निर्माणलगायतका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको उहाँले जानकारी दिनुभयो। तालिम सम्पन्न भइसकेको र आगामी दिनमा कृषकको आवश्यकता अनुसार थप प्राविधिक तालिम पनि उपलब्ध गराइने बताउनुभयो ।

 

कृषक समूहका सदस्य मोहन कोइरालाले आईएलभीसी कार्यक्रम अन्तर्गत सञ्चालन भएको १८ हप्ते तालिमबाट उत्पादन नर्सरी व्यवस्थापन तथा बजारीकरणका लागि ग्रेडिङ सम्बन्धी सीप हासिल गरेको बताउनुभयो । साथै वायु चार्ट र वनस्पति विषादी बनाउने तालिमले कृषि उत्पादन वृद्धि गर्न र जैविक विविधता संरक्षणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

 

त्यसैगरी स्थानीय अम्बिका ज्ञवाली कोइरालाले तानसेन नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक विकास संघ रेडाको सहजीकरणमा सञ्चालन भएको तालिममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । तालिमबाट सिकेका सीपहरू आगामी दिनमा कृषक समूहले प्रयोगात्मक रूपमा कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । समुदायमै पुगेर सञ्चालन गरिएको क्षमता अभिवृद्धि तथा दिगो कृषि अभ्यास तालिमले कृषकहरूको ज्ञान, सीप र आत्मनिर्भरता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको तानसेन नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले बताउनुभयो । यस्ता कार्यक्रमहरूले वातावरणमैत्री कृषि अभ्यासलाई प्रवर्द्धन गर्दै स्थानीय कृषि उत्पादन र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

Comments