समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

पाल्पा – जिल्ला पाल्पाको तानसेन नगरपालिका वडा नं २ नारायणस्थानस्थित कवडहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नारायण युवा क्लबको आयोजना, तानसेन नगरपालिका वडा नं २ कार्यालयजिल्ला प्रहरी कार्यालयको समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो ।

 

कार्यक्रम नारायण युवा क्लबका अध्यक्ष प्रविनराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि एवं पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख जिल्ला अधिकारी सुवेदीले समाजमा शान्ति, सुरक्षा र समृद्धि कायम गर्न समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले लागुऔषध दुव्र्यसन, लैंगिक हिंसा, साइबर अपराध जस्ता सामाजिक विकृतिहरू न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरू प्रभावकारी हुने उल्लेख गर्नुभयो । साथै, सुरक्षाका विषयमा नागरिकहरूको सक्रिय सहभागिता जरुरी रहेको भन्दै प्रहरी प्रशासन सधैं जनताको सुरक्षामा प्रतिबद्ध रहेको कुरा उहाँले स्पष्ट पार्नुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, तानसेन वडा नं २ का अध्यक्ष महेश्वर श्रेष्ठ, कार्यपालिका सदस्य सविता नेपाल, नेपाल रेडक्रस सोसाइटी पाल्पाका कार्यालय प्रमुख विनोद भारती, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी निरीक्षक कमल प्रधानले लागुऔषध न्यूनीकरण, लैंगिक हिंसा तथा घरेलु हिंसा, साइबर अपराध र ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण पाल्पा जिल्लाका ट्राफिक प्रमुख कृष्ण आचार्यले दिनुभएको थियो ।

 

सोही अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अमरनारायण मन्दिर परिसरमा सरसफाइ कार्यक्रम समेत सम्पन्न भएको छ । उक्त सरसफाइ अभियानमा नारायण युवा क्लब, वडा कार्यालय, टोल विकास संस्था, स्थानीयबासीहरू, तथा प्रहरी निरीक्षक जीतबहादुर घर्ती मगरसहित अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । यस कार्यक्रमले स्थानीय बासिन्दाहरूमा सुरक्षा सचेतना अभिवृद्धि गर्न तथा समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्ध मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको नारायण युवा क्लबका अध्यक्ष प्रविनराज शाक्यले बताउनुभएको छ ।

 

Comments