सामाजिक सेवामा समर्पित जन्मदिन : बालबालिकाको अनुहारमा मुस्कान ल्याउने एउटा प्रेरणादायी प्रयास
पाल्पा— मानिसले आफ्नो जन्मदिन कसरी मनाउने भन्ने शैली फरक–फरक हुन्छ । कसैले आफन्त र साथीभाइसँग रमाइलो गर्छन्, कसैले घुमघाममा जान्छन्। तर, कक्षा ७ मा अध्ययनरत १३ वर्षीय अनिकेतन भण्डारीले भने यसपटक आफ्नो जन्मदिन केही फरक तरिकाले मनाउने निर्णय लिनुभयाे । उहाले लायन्स क्लब अफ पाल्पा रानिमहलका द्वितीय उपाध्यक्ष करुणा काफ्लेसँग सहकार्य गर्दै पाल्पा केयर सेन्टरमा आश्रित बालबालिकासँग जन्मदिनको खुसी बाँड्नु भएकाे छ । कार्यक्रमको सुरुवात उत्सवपूर्ण थियो । केयर सेन्टरमा रहेका बालबालिकालाई केक र खाजाको व्यवस्था गरिएकाे थियाे । केयर सेन्टरका बालबालिकाहरूको अनुहारमा देखिएको मुस्कान, झनक्क बाल्यकालको उज्यालो झल्को थियो । अनिकेतनको लागि त्यो क्षण कुनै महँगो उपहारभन्दा पनि अमूल्य बन्यो ।
जन्मदिनको अवसरमा केवल खाजामात्रै होइन, दीर्घकालीन उपयोगका लागि अत्याधुनिक तातो–चिसो पानी आउने फिल्टर, चामल, चिनी, चिउरा, तेल लगायतका खाद्यवस्तुहरू पनि सहयोग स्वरूप प्रदान गरिएकाे छ । यो सहयोगले केयर सेन्टरमा बस्ने बालबालिकाहरूको दैनिक जीवन सहज बनाउन ठुलो योगदान पुर्याउनेछ । कार्यक्रममा प्रमुख अतिथिका लायन्स एरिया चिफ महेन्द्रकुमार पोख्रेलले यस्तो सकारात्मक कार्यले समाजमा सद्भाव र मानवीयता फैलाउने उल्लेख गर्दै आयोजकलाई बधाई दिनुभयाे । कार्यक्रममा लायन्स क्लबका निवर्तमान अध्यक्ष काेसिष भण्डारी, तुल्सी काफ्ले, उपाध्यक्ष मधुसुधन पराजुली, सदस्यहरू किरण अधिकारी, जीवन पाण्डे, पूर्णबहादुर थापा लगायतको सक्रिय उपस्थिति थियो।
डे केयर सेन्टरका प्रमुख कृष्ण गहतराजले कार्यक्रमप्रति कृतज्ञता व्यक्त गर्दै सानै उमेरका बालकले आफ्नो जन्मदिन यति अर्थपूर्ण तरिकाले मनाउनु वास्तवमै प्रेरणादायी रहेको बताउनुभयो । यस किसिमकाे कार्यक्रमले अन्यलाई पनि सोच बदल्न प्रेरित गर्ने बताउनुभयो । लायन्स क्लब अफ पाल्पा रानिमहलका द्वितीय उपाध्यक्ष करुणा काफ्लेले जन्मदिनकाे अवसरमा साना कार्यबाट कसैको जीवनमा खुसी ल्याउन प्रयास गरेको बताउनुभयो । सामाजिक कार्यमा बालबालिकाको सहभागिता हुनु समाजको उज्यालो भविष्यको संकेत रहेको बताउदै आगामी दिनमा पनि यस्तै सकारात्मक र रचनात्मक सामाजिक उत्तरदायित्व कार्य गर्ने बताउनुभयो । कार्यक्रम लायन्स क्लब अफ पाल्पा रानीमहलका अध्यक्ष राजेश कुमार भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।








































Comments