सहिदहरूलाई स्मरण गर्दै बगनासकालीमा उम्मेदवारसँग अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम
पाल्पा-नेपाली कांग्रेस बगनासकाली गाउँपालिका, पाल्पाले सहिद दिवसको अवसर पारेर उम्मेदवारसँग भेटघाट कार्यक्रम गरेको छ । उक्त अवसरमा गाउँपालिकाले औपचारिक रूपमा चुनावी अभियानको शुभारम्भ गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति तथा पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार हिमाल दत्त श्रेष्ठले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना तथा राष्ट्रियताको रक्षाका लागि जीवन बलिदान दिने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ ,पाल्पाली सहिदहरू तथा जेन्जी आन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
उहाँले आफू निर्वाचित भएमा पाल्पालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लुम्बिनी र पोखरा जाने पर्यटकलाई लक्षित गरी पाल्पालाई ‘वान डे स्टेप हप’का रूपमा विकास गर्ने योजना रहेको उहाँको भनाइ थियो । साथै धार्मिक, ऐतिहासिक तथा कृषि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विशेष नीति तथा कार्यक्रम संसदमा पेश गरी पाल्पाको विकासमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाल्पाभित्रका मुख्य सडकहरूको स्तरोन्नति गरी यातायात व्यवस्थालाई सहज बनाउने पहल गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर राना रहनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गैरे,पाटी सचिव सुनिता अधिकारी, पाल्पा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मुक्तिराम जि सी, महाधिवेशन प्रतिनिधि कृष्ण बस्याल, राम कार्की, लक्ष्मी अधिकारी, माधव नेपाल,लिला अर्याल लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस बगनासकाली गाउँपालिकाका सभापति थानेश्वर तिमिल्सिनाको अध्यक्षता सम्पन्न भएको थियो ।








































Comments