सहानुभूतिको स्पर्श: “तिमी सङ्ग आन्विका” कार्यक्रम
पाल्पा — अनुहारमा मुस्कान छ, तर त्यो मुस्कान सजिलोसँग आएको होइन । शारीरिक रूपमा फरक क्षमताकी आन्विकाको जीवनका हरेक पाइला चुनौतीको धरातलमा उभिएको छ । तर यही जीवनबाट प्रेरणा लिएर सुरु भएको “तिमी सङ्ग आन्विका” नामक अभियान अहिले पाल्पा जिल्लाका थुप्रै फरक क्षमता भएका बालबालिकाको जीवनमा आशा बनेर घरदैलोमै आइपुगेको छ ।
सामाजिक मानवता अभियानका अगुवा हुन् आन्विकाकै पिता नरेश कुमार प्रधान,उहाँले आफ्नो छोरीको अनुभवलाई आत्मसात गर्दै, त्यस जस्तै अवस्थाका अन्य बालबालिकाहरूको पीडा बुझ्न थालेका छन् । उहाँका लागि यो केवल एक पारिवारिक जिम्मेवारी मात्र होइन, समाजप्रतिको कर्तव्य हो । उहाका अनुसार फरक क्षमता कुनै कमजोरी होइन, यो त फरक दृष्टिकोण हो, जुन बुझ्न सक्ने मनहरू चाहिन्छ । हाे त्यही विश्वास बोकेर सुरु गरिएको “तिमी सङ्ग आन्विका” कार्यक्रम अहिले एक सार्थक सामाजिक अभियानका रूपमा अगाडि बढिरहेको छ ।
यहि कार्यक्रम अन्तर्गत पाल्पा जिल्लाको तानसेन नगरपालिकामा रहेका फरक क्षमता भएका बालबालिकाहरूलाई आवश्यक सामग्री उनीहरूको घरमै पुगेर प्रदान गरिएको हो । कार्यक्रमले कहिल्यै सहयोगका नाममा भीडभाड, भाषण वा तस्बिर खिचाइको लोभ देखाएन । न कुनै औपचारिक मंचमा गरिएन,एउटा साधारण तर गहिरो भावनाले भरिएको टोली जसमा थिए पाल्पा केयर सेन्टरका सञ्चालक कृष्ण गहतराज र वडाका जनप्रतिनिधिहरू,उहाहरूले फरक क्षमता भएका बालबालिकाको घरदैलोमा पुगेर उनीहरूको आवश्यकता बुझ्दै, गरिमासाथ आवश्यक सामग्रीहरू हस्तान्तरण गर्दै हिँड्नुभयाे ।
यस अभियानमार्फत अपांगता भएका बालबालिकाहरूकाे लागि स्पेशल चियर,बैशाकी लगाएतका सामग्रीहरू समावेश थिए । तर यी सबैभन्दा महत्वपूर्ण थियो, साथ र सहानुभूति, घरको ढोका ढक्ढक्याउने बेलामा कुनै माग थिएन, केवल एउटै भावना थियो “हामी तपाईंसँग छौं।”यस अभियानले देखाएको मानवीयता र संवेदनशीलता आजको समाजमा दुर्लभ बन्दै गएको सद्भावको उदाहरण बनेको छ । यो कार्यक्रमले फरक क्षमताका बालबालिकाहरूलाई मात्र सहयोग गरेको छैन, समाजलाई फरक ढंगले सोच्न प्रेरणा दिएको तानसेन नगरपालिका वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले बताउनुभयो ।
डे केयर सेन्टरका सञ्चालक कृष्ण गहतराजले यस किसिमका कार्यक्रमहरूबाट फरक क्षमता भएका बालबालिकामा आत्मबल बढ्ने र समाजमा सकारात्मक दृष्टिकोणको विकास हुने बताउनुभयो । उहाले तानसेन वडा न ५ निवासी सम्राट बिष्ट, किशन बिक, नेत्र विक र तानसेन वडा न ६ निवासी फरक क्षमता भएका बालबालिकालाई स्पेशल चियर र बैसाखी वितरण गरिएको बताउनुभयो । उहाले विशेष गरि नरेश कुमार प्रधान छोराको पार्थिबेस प्रधानको जन्मदिनको अवसरमा तिमीसँग अन्विका कार्यक्रम अन्तर्गत फरक क्षमता भएका बालबालिकाहरूलाई आवश्यक सामग्रीहरू वितरण गरेको बताउनुभयो ।
तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य मान बहादुर कार्कीले वितरित सामग्रीहरूले फरक क्षमता भएका बालबालिकाहरूलाई दैनिक जीवनयापनमा सहजता हुने बताउनुभयो । आगामी दिनमा वडा कार्यालयले पनि फरक क्षमता भएका बालबालिकाहरूको आवश्यकता पहिचान गरी आवश्यक सहयोग गर्नका लागि पहल गर्ने बताउनुभयो ।








































Comments