संघर्ष र संगठनबाट उदाएका नेता हिमाल – प्रतिनिधि सभामा उम्मेदवार
नेपाली राजनीतिमा अनुभव र ऊर्जाबीचको सन्तुलन खोजिरहेका कार्यकर्ता र मतदाताका लागि हिमाल दत्त श्रेष्ठ एक भरोसायोग्य र आशालाग्दो नाम हुन् । तीन दशक भन्दा लामो निरन्तर राजनैतिक सक्रियता र लोकतान्त्रिक मूल्यप्रतिको अविचल निष्ठाले उनलाई नेपाली कांग्रेसभित्र एउटा अलग्गै पहिचान दिलाएको छ । पाल्पाको माटो र कांग्रेसको झण्डासँग उनको सम्बन्ध केवल औपचारिक होइन—यो भावनात्मक र ऐतिहासिक छ । लामो समयसम्म उनको निजी निवास नै कांग्रेस कार्यकर्ताका लागि जिल्ला कार्यालयसरह साझा आश्रयस्थल बनेको थियो ।
प्रारम्भिक जीवन र राजनीतिमा प्रवेश
हिमाल दत्त श्रेष्ठको राजनीतिमा प्रवेश कुनै पद, प्रतिष्ठा वा सुविधाको खोजीबाट भएको थिएन । पारिवारिक संस्कार, लोकतन्त्रप्रतिको आस्था र कांग्रेसको विचारधाराले उनलाई सानै उमेरदेखि राजनीतितर्फ आकर्षित गर्यो । १३ वर्षको उमेरमै उनले नेविसंघमार्फत राजनीतिक यात्रा सुरु गरे । वि.सं. २०५१ मा सेन माध्यमिक विद्यालय, पाल्पामा नेविसंघ इकाई सभापतिको जिम्मेवारी सम्हाल्दै उनी विद्यार्थी राजनीतिमा स्थापित भए । त्यसपछि त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा नेविसंघ इकाई सदस्य, स्ववियु सदस्य, उपसभापति हुँदै सभापतिसम्मको जिम्मेवारी निर्वाह गर्दै उनले संगठन निर्माण र नेतृत्व क्षमताको बलियो आधार तयार पारे ।
आन्दोलन र गिरफ्तारी
हिमाल दत्त श्रेष्ठको राजनीतिक यात्रा आन्दोलन र बलिदानबाट खारिएको छ । वि.सं. २०५९ को प्रतिगमन विरोधी आन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा उनी अग्रपङ्क्तिमा रहे । आन्दोलनकै क्रममा काठमाडौंमा गिरफ्तार भई १७ दिनसम्म हिरासतमा बस्नुपर्यो । यही समय त्रिभुवन विश्वविद्यालयमा भएको आक्रमणमा परी उनी गम्भीर घाइते भए, जसका घाउ र टाँकाहरू आज पनि उनका संघर्षका प्रत्यक्ष साक्षी हुन् । आन्दोलनकै बीच उनका बुवाको देहावसान भयो । जेल र सडक संघर्षमा रहेका कारण उनी आफ्नै बुवाको अन्तिम दर्शन र दाहसंस्कारमा सहभागी हुन सकेनन् । यो पीडा कुनै पनि छोराका लागि असह्य हुन्छ । तर, “व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश ठूलो” भन्ने आदर्शलाई आत्मसात् गर्दै उनले व्यक्तिगत शोकलाई राजनीतिक संकल्पमा रूपान्तरण गरे ।
संगठन निर्माण र विद्यार्थी राजनीतिमा योगदान
माओवादी जनयुद्धको कठिन कालखण्डमा, जब गाउँ–गाउँमा राजनीतिक गतिविधि गर्नु जोखिमपूर्ण थियो, उनले पाल्पाका अधिकांश विद्यालय र क्याम्पसमा नेविसंघको संगठन विस्तार गरे । यसले उनलाई साहसी, धैर्यवान् र परिणाममुखी संगठकका रूपमा स्थापित गर्यो । उनी सेन माविको नेविसंघ सभापति हुँदै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको इकाईमा सभापति हुँदै स्ववियु सभापति सम्म भए । नेविसंघको जिल्ला राजनीति मा पनि उनी पाल्पाको सभापति हुंदै वि.सं. २०६२ मा नेविसंघ मनोनित केन्द्रीय सदस्य, वि.सं. २०६४ मा चितवन महाधिवेशनबाट पश्चिमाञ्चल क्षेत्रकै सर्वाधिक मतसहित नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित र वि.सं. २०७३ मा नेविसंघ केन्द्रीय महामन्त्री पदका उम्मेदवार बनेर उनले विद्यार्थी राजनीतिमा राष्ट्रिय पहिचान बनाए ।
पार्टी राजनीतिमा हिमाल
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेपछि पनि श्रेष्ठ संगठन निर्माण र विस्तारमै निरन्तर केन्द्रित रहे। राजनीतिक चेतना, अनुशासन र संगठनप्रतिको प्रतिबद्धताका कारण उनले छोटो समयमै पार्टीभित्र विश्वासिलो नेतृत्वको पहिचान बनाउन सके। वि.सं. २०६४ मा जिल्ला सदस्यमा प्रथम स्थानमा निर्वाचित हुँदै उनले संगठनात्मक यात्रालाई औपचारिक रूप दिए।
पछि वि.सं. २०७२ मा सम्पन्न नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट उनी महासमिति सदस्यमा निर्वाचित भए। त्यसैगरी, वि.सं. २०७८ मा नेपाली कांग्रेस पाल्पा जिल्ला सभापतिमा निर्वाचित भई जिल्लामा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
सामाजिक र सादगी नेता हिमाल
हिमाल साच्चिकै हिमाल जस्तै छन् । उनिमा कुनै घमण्ड, दम्भ र देखासिखी कहिल्यै देखिएन् । उनी सादा जिवनमा हिड्ने सादगी नेता भनेर जस्ले चिनेको छ त्यस्ले पक्का पनि भन्छ । उनी प्राय चिया खान पनि छाप्रा र क्यान्टिनमा छिर्छन् । सिंगो तानसेनमा उनी पैदल हिड्छन । अरुको प्रतिक्रिया अत्यन्तै तुरुन्त दिन्छन् । उनी धेरैका नेता होलान्, धेरैका दाइ होलान् तर उनी प्रायका लागि साथी जस्तै सहज छन् । उनिलाई भेट्न, उनिसँग कुरा गर्न, उनिलाई सुझाव दिन असहज छैन । उनले ताली मात्र होइन गालीको पनि उचित कदर गर्छन् । यद्यपि उनी समाजको लागि एक उदाहरणीय सादगी र सामाजिक व्यक्ती हुन् । उनी २०७२ को महाभुकम्पमा टहरा बनाउन र राहत वितरणमा लिप्त थिए । उनी तस्विर र समाचारका लागि मात्र सेवा गर्दैनन् उनी यथार्थमा नै युवाको प्रेरणाको स्रोत हुन् । पछिल्लो समय कोभिडको समयमा समेत उनले स्वास्थ सामग्रीको पहुँचको निम्ति लागि परेका थिए । यसका अलवा सामाजिक रुपमा हुने काममा उनी औजार सहित जागे लगाएर उभिन्छन् । उनी साच्चै नै पाल्पाका लागि हिमाल हुन्, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्दै हिमालको संरक्षण गर्न पाल्पाली चुके भने भविष्यले धिक्कार गर्ने छ ।
विशेष महाधिवेशनमा विशेष भएर उभिएका हिमाल
नेविसंघ बाट पार्टीको राजनीतिमा आएका हिमाल पार्टीका नेताहरु प्रायः सँग नजिकको सम्बन्ध राखेका व्यक्ती हुन् ।गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र सुशील कोइराला जस्ता शिखर पुरुषहरूको सामीप्यमा रहेर राजनीति सिकेका श्रेष्ठमा ती नेताहरूको निष्ठा र सरलताको प्रभाव छ । तत्कालिन कांग्रेसका वरिष्ठ नेता अर्थात् अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलको लागि उनी कुनै समयमा किचन क्याबिनेट जस्तै थिए । गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहका पनि उनी उत्तिकै प्रिय व्यक्ती हुन् । तर जेनजी आन्दोलनको मर्मलाई बुझ्दै समयको मागलाई चिन्दै पार्टी फुट्न नदिने प्रणका साथ विशेष महाधिवेशनको पक्षमा खुलेर उभिए । पाल्पा बाट विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधीहरुको दर्बिलो उपस्थिति गराए । अन्ततः विशेष महाधिवेशन सफल भयो । उनले समयलाई चिनेको पनि यो ताजा उदाहरण हो ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारी : २०८२ को निर्णायक राजनीतिक कदम
वि.सं. २०८२ सालमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २१ गते तय भएको चुनावमा पाल्पा क्षेत्र नं. २ बाट हिमाल दत्त श्रेष्ठको उम्मेदवारी बलियो, अर्थपूर्ण र संगठनात्मक रूपमा सुदृढ रहेको राजनीतिज्ञको विश्लेषण रहेको छ । तीन दशक भन्दा लामो राजनीतिक अनुभव, विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्मको निरन्तर सक्रियता र कार्यकर्तासँगको गहिरो सम्बन्धका कारण उनको उम्मेदवारीलाई कांग्रेसभित्र मात्र नभई जिल्लाभरि नै प्रतिस्पर्धी र गम्भीर रूपमा लिइएको छ । यो उम्मेदवारी कुनै आकस्मिक निर्णय होइन, लामो समयदेखि पार्टी संगठन, आन्दोलन र जनसम्पर्कमार्फत आर्जित राजनीतिक पूँजीको परिणाम हो । संगठनलाई प्राथमिकतामा राख्दै, गुटगत राजनीतिभन्दा माथि उठेर सबैलाई समेट्ने उनको शैलीले उनलाई २०८२ को निर्वाचनमा भविष्यप्रति भरोसा गर्न सकिने जिम्मेवार नेतृत्वका रूपमा स्थापित गरेको छ । उनले आफू मित्रवत प्रतिस्पर्धा र आर्थिक मित्यव्ययिताका साथ निर्वाचनमा होमिने प्रण गर्दै अरुलाई पनि मित्रवत प्रतिस्पर्धाका लागि अनुरोध गरेका छन् ।








































Comments