सडक खाल्डाखुल्डी पुर्दै रानाभाट सेवा समाज, तानसेन–११ बडहरबोट — सामुदायिक एकताको उत्कृष्ट उदाहरण

तानसेन – पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ११ बडहरबोटका स्थानीयवासीहरूले सामूहिक प्रयासमार्फत सडकका खाल्डाखुल्डी पुर्ने र सडकका दायाँ–बायाँ रहेका झाडी सफा गर्ने अभियान सञ्चालन गरेका छन् । स्थानीय स्तरमै गरिएको यो जनसहभागी अभियानले गाउँको विकासप्रतिको स्थानीय प्रतिबद्धता र सामुदायिक एकताको सशक्त उदाहरण प्रस्तुत गरेको छ ।

 

रानाभाट सेवा समाज, तानसेन–११ बडहरबोटको अगुवाइमा रानीपोखरी टोल विकास संस्था, स्थानीय समाजसेवी, युवा तथा यातायात व्यवसायीहरूको सक्रिय सहकार्यमा सेतिपोखरीदेखि गुफाचौरसम्मको सडकखण्डमा खाल्डाखुल्डी पुर्ने तथा झाडी सफा गर्ने काम सम्पन्न गरिएको हो । सडक सुधारका क्रममा झाडीहरू हटाइएका छन् भने पानी जम्ने ठाउँहरूमा माटो र ढुङ्गाले पुर्ने काम गरिएको छ ।

 

रानाभाट सेवा समाजका अगुवा प्रेमबहादुर भाटका अनुसार उक्त अभियानमा करिब ४० जना स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता रहेको बताउनुभयो । उहाले स–साना खाल्डा र पानी जम्ने ठाउँहरूले गर्दा यात्रुहरूलाई हिँड्न असहज भएकोले  सबै मिलेर आफ्नो बाटो आफैं बनाउने अभियान गरिएको बताउनुभयो । 

 

सडक सुधारपछि बडहरबोट–सिस्नेखोला सडकखण्डमा सवारी सञ्चालन सहज र सुरक्षित बनेको स्थानीयवासीहरूले बताएका छन् । विशेष गरी मोटरसाइकल र साना सवारी साधन प्रयोग गर्ने यात्रुहरूले अब पहिलेभन्दा बढी सहज अनुभव गरेको बताउँछन् । 

 

सडक सुधार अभियानले केवल बाटो मर्मतमा मात्रै सीमित नभई समुदायभित्र सहकार्य, एकता र स्वावलम्बनको भावना पनि बलियो बनाएको स्थानीय भिउसिन गहतराजले बताउनुभयो । अभियानका क्रममा स्थानीय युवाहरूले माटो र ढुङ्गा बोकेर खाल्डा पुर्ने, महिला समूहहरूले बाटोका किनारामा रहेका झाडी सफा गर्ने कार्य गरेको बताउनुभयो । 

 

स्थानीय सुरज राना भाटले भविष्यमा पनि यस किसिमका सामाजिक कार्यलाई निरन्तरता बताउनुभयो ।अभियानको  लक्ष्य केवल बाटो सुधार मात्र नभई गाउँको समग्र विकास रहेकाले सबै मिलेर सहयोग र साझेदारीको संस्कारलाई स्थायी बनाउने बताउनुभयो । तानसेन–११ बडहरबोटको यो उदाहरण अन्य स्थानहरूका लागि पनि प्रेरणादायी बन्न सक्ने देखिन्छ ।

Comments