रिद्धिकोट गाउँपालिका वडा नम्बर ४ मा लोक संस्कृति सम्बन्धी वडास्तरीय नृत्य प्रतियोगिता सम्पन्न

पाल्पा-रिब्दिकोट गाउँपालिका वडा नं ४ मा आयोजित लाेक सांस्कृतिक कार्यक्रम अन्तर्गत वडास्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन रिब्दिकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले गर्नुभएकाे थियाे । 

 

प्रतियोगिता रिब्दिकोट गाउँपालिकाका सांस्कृतिक धरोहर र परम्पराको संरक्षणको उद्देश्यले आयोजना गरिएको आयाेजकले जनाएका छन । प्रतियोगितामा कुल नौवटा टिमले सहभागीता जनाएका थिए, जसले विभिन्न सांस्कृतिक प्रस्तुति र लोपन्मुख गीतहरूमा आधारित नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रमले समाजका विभिन्न तहका व्यक्तिहरूलाई एकत्रित गरि सांस्कृतिक विविधताको संरक्षण र प्रोत्साहनमा महत्त्वपूर्ण योगदान पुर्याएको थियाे । कार्यक्रममा सहभागी भएका टिमहरूलाई पुरस्कार वितरण गर्ने क्रममा पहिलो स्थान प्राप्त गर्ने हटिया समूहले १५ हजार  रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन ।  दोस्रो स्थान प्राप्त गर्ने भारकाेट समूहले १० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् भने तृतीय हुन् किञ्जन समूहले ८ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा सहभागी भएका अन्य टिमहरूलाई समेत सांत्वना पुरस्कार प्रदान गरिएको थियो ।

 

कार्यक्रमलाई सम्बाेधन गर्दै रिब्दिकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले कार्यक्रम सांस्कृतिक धरोहरको संरक्षणका लागि ठूलो कदम भएको बताउनुभयाे । उहाँले सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै हाम्रो इतिहास र परम्परालाई जोगाउने प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । यस्ता कार्यक्रमले समुदायलाई एक जुट बनाउने र आगामी पुस्तामा पनि सांस्कृतिक पहिचानको महत्वलाई बुझाउने कार्य गर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरूको आयोजनाले समुदायमा सकारात्मक सोच र सहकार्यको भावना फैलाउने मधत गरेको बताउनुभयो । सांस्कृतिक कार्यक्रमहरूका माध्यमबाट मात्र हामी आफ्नो जरा र परम्परालाई सम्झन सक्छौँ र आगामी पुस्तामा हाम्रो परम्परा कायम राख्न यस्ता कार्यक्रमले टेवा पुर्याउने बताउनुभयो । 

 

प्रतियोगितामा सहभागी टिमहरूले नृत्य प्रस्तुति मार्फत स्थानीय संगीत र संस्कृतिको महत्त्वलाई उजागर गराउनु भएको थियाे ।  प्रतियोगितामा भाग लिन आउनु भएका धेरै टिमहरूका सदस्यहरू, शिक्षक, अभिभावक र गाउँका बासिन्दा उपस्थित हुनुभयाे जसले कार्यक्रमको उत्कृष्टतामा थप रमाइलो र चासो थपेका थियाे । प्रतियोगिताले गाउँपालिका क्षेत्रमा सांस्कृतिक जागरूकता फैलाउने र लोपन्मुख गीत र नृत्यहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरेकाे भैरब जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पाैडेलले बताउनुभयो । यसले सामुदायिक एकता र सहकार्यको भावना पनि प्रगाढ गरेको बताउनुभयो ।

 

कार्यक्रममा वडा अध्यक्ष साेम कुमार कार्कीले लोपन्मुख संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयाे । उहाँले यस्तो कार्यक्रमले स्थानीय संस्कृति जगेर्ना गर्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रतियोगिताले युवाहरूलाई आफ्नो मौलिक परम्पराप्रति जागरूक बनाउने अपेक्षा गरिएको बताउदै सांस्कृतिक गतिविधिले सामुदायिक एकता र पहिचानलाई पनि बलियो बनाउने बताउनुभयो । वडा स्तरमा गरिएको प्रयासले भविष्यमा स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य राजेन्द्र नेपालले गर्नु भएको थियाे ।

Comments