रोटरी क्लब बुटवलले लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण

प्रतिस्पर्धात्मक बजारमा बिक्ने र टिक्ने खालको जनशक्ति उत्पादन गर्ने उद्देश्यले तानसेन ५ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरिएको छ । रोटरी क्लब बुटवलको आयोजनामा सूचना प्रविधिका सामग्रीहरू हस्तान्तरण गरिएको हो । 

 

रोटरी क्लब बुटवलका संयोजक राजेन्द्रप्रसाद धोजुले विद्यालयका प्रधानाध्यापक विष्णु सिग्देललाई सामग्री हस्तान्तरण गर्दै शिक्षक तथा विद्यार्थीको चौतर्फी ज्ञान अभिवृद्धिका लागि सूचना प्रविधिले पूर्ण रुपमा सहयोग पुर्याउने भएकोले यसको संरक्षण सहित भरपुर सदुपयोग हुनुपर्ने बताउनुभयो ।

 

क्लबका उपाध्यक्ष तथा स्थानीय समाजसेवी बाबुराम बोहराले आफ्नो कर्मथलोप्रति केही राम्रो काम गरौं भन्ने उद्देश्यले लक्ष्मी माध्यमिक विद्यालयलाई करिब ६ लाख रुपैयाँ बराबरको चारवटा ल्यापटप र चारवटा प्रोजेक्टर हस्तान्तरण गरेको बताउनुभयो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कार्कीले दाताहरूलाई धन्यवाद दिँदै यस्तै विभिन्न प्रकारका सहयोगले शैक्षिक संस्था सञ्चालन गर्न र शिक्षाको गुणस्तर कायम राख्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । हस्तान्तरण समारोहमा विद्यार्थी , स्थानीय अभिभावक , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

 

हस्तान्तरण कार्यक्रमपछि रोटरी क्लबका पदाधिकारीहरूले बिध्यालय परिसरमा रहेको पाल्पा डायोलासिस केन्द्रको अवलोकन तथा आवश्यक  परामर्श प्रदान गरेका थिए।

Comments