राष्ट्रिय शिक्षा दिवसको अवसरमा निस्दी गाउँपालिकाले गर्‍यो शिक्षक र विद्यार्थीलाई सम्मान

होम राई मगर

पाल्पा / ३ असोज । निस्दी गाउँपालिका पाल्पाले उत्कृष्ट शिक्षक,विद्यार्थी र विद्यालयलाई छनौट गरि सम्मान गरेको छ । ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर गत बुधबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

 

शैक्षिकसत्र २०८० सालको आधारभूत तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न विद्यालयका १५ जना विद्यार्थी र ७ जना शिक्षकहरुलाई सम्मान गरिएको शिक्षा संयोजक नर बहादुर थापाले जानकारी दिनु भयो । त्यसैगरी सोही शैक्षिकसत्रको एसइइ परीक्षामा उत्कृष्ट जिपीए प्राप्त गर्ने २ जना विद्यार्थी र ४ जना शिक्षकलाई सम्मान गरिएको छ । कार्यक्रममा कक्षा १२ को अन्तिम परीक्षामा राम्रो गर्ने १२ जना विद्यार्थी र ४ जना शिक्षकलाई समेत सम्मान गर्नुका साथै आधारभूत तह उत्तीर्ण परीक्षामा सिन्दुर आधारभूत विद्यालय अर्चले,एसइइ परीक्षामा जनप्रिय माध्यमिक विद्यालय ज्यामिरे र १२ कक्षाको परीक्षामा राम्रो गर्ने गौरीशंकर माध्यमिक विद्यालय मित्याललाई सम्मान गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले मानव संसाधनले बिकासका पूर्वाधारमा सहयोग पुग्ने महसुस गर्दै गत वर्ष देखि शिक्षा क्षेत्रमा प्राथमिकताका साथ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष सारुले शिक्षकको काम पढाउनु मात्र नभई विद्यार्थीहरुलाई असल शिक्षा प्रदान गर्नुका साथै समयसापेक्ष व्यवहारिक र प्रविधिमुखी शिक्षामा जोड दिन सुझाव दिनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले सम्मानित हुने सबैलाई शुभकामना दिनु हुँदै समाज परिवर्तनमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । गाउँपालिकामा आफू आए पछिको सबैभन्दा ठूलो सम्मान र महत्त्वपूर्ण कार्यक्रम रहेको र यस कार्यक्रमले जनस्तरमा समेत सकारात्मक सन्देश जानेमा आफू विश्वास्त रहेको बताउनुभयो ।

 

यसैबीच सोही अवसरमा आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि सन्चालन गरिएको छ । जम्मा २५ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा राइकोट आधारभूत विद्यालय गल्धाले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी गोरखनाथ माध्यमिक विद्यालय अर्चलेले द्वितीय र अंशुवर्मा माध्यमिक विद्यालय सहलकोटले तृतीय स्थान प्राप्त गरेको छ । पुरस्कृत विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष सारुको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन बालमैत्री शाखा संयोजक कुश्माखर पाण्डेयले गर्नुभएको हो

Comments