रैनादेवी छहरामा वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

पाल्पा, रैनादेवी छहरा — रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा वडास्तरीय तीज गीत प्रतियोगिता बुधबार सम्पन्न भएको छ। गाउँपालिकाको ५ नं वडा, कटौजेपानी खेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा गाउँपालिकाका सबै ८ वटा वडाका टोलीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

 

कार्यक्रमको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई रहनुभएको थियो। सो अवसरमा सबै वडाका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, गाउँ शिक्षा समितिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीसहित पालिकाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत निशा पाण्डेले गर्नुभएको थियो । प्रतियोगितामा भैरव नवदीप मा.वि. का शिक्षक खिमानन्द पोखरेल, लोक तथा दोहोरी गीत प्रतिष्ठान, पाल्पाका उपाध्यक्ष रुपेश कार्की र नृत्य प्रशिक्षक मञ्जिता सुनाम निर्णायकको भूमिकामा रहनुभएको थियो।

 

प्रतियोगितामा ५ नं वडा, मुझुङ्गले पहिलो स्थान हासिल गरी नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै ६ नं वडा, जुठापौवाले दोस्रो स्थान प्राप्त गर्दै नगद १५ हजार र ८ नं वडा, सत्यवतीले तेस्रो स्थान हासिल गर्दै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन्।

Comments