रैनादेवी छहरामा महिलाहरूका लागि साबुन तथा सरफ बनाउने तालिम सुरु

पाल्पा-रैनादेवी छहरा गाउँपालिकामा महिलाहरूको आर्थिक आयआर्जन र सीप विकास गर्ने उद्देश्यले साबुन तथा सरफ बनाउने तालिम सञ्चालन गरिएको छ । महिला आयआर्जन तथा सिपमूलक कार्यक्रम अन्तर्गत आयोजित यस तालिम सुरु भएको हो । 

 

गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक युवराज थापाको अध्यक्षतामा भएको सो उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न सकेको खण्डमा मात्र महिलाहरू आत्मनिर्भर हुन सक्ने बताउनुभयो। उहाँले गाउँपालिकाले सीपको अभावमा रहेका महिलाहरूलाई सीप सिकाउने अभियान नै चलाएको उल्लेख गर्नुभयो । कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष युवराज थापाले महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँले महिलाहरूलाई आवश्यक तालिम उपलब्ध गराउनु गाउँपालिकाको जिम्मेवारी भएको बताउँदै तालिममा सिकेका कुराहरू व्यवहारमा देखिने गरी काम गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले साबुन तथा सरफ बनाउने तालिम पश्चात स्थानीय स्तरमै उत्पादित वस्तुहरू प्रयोग गर्ने वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । 

 

चार दिनसम्म सञ्चालन हुने यस तालिममा गाउँपालिकाका ३३ जना महिलाहरूको सक्रिय सहभागिता रहेको छ । महिलाहरूलाई आवश्यक सीप प्रदान गरी उद्यमशीलता विकास तथा आर्थिक उपार्जनमा टेवा पुर्‍याउने मुख्य उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । यस तालिममा प्रशिक्षण सहयोगी संस्थाका रूपमा प्लान स्टार सानो संसारको सहकार्य रहेको छ । उक्त संस्थाका तर्फबाट प्रशिक्षकहरू प्रशान्त सि.एन., मिना गन्धर्व र कमला महतराले सहभागीहरूलाई प्रयोगात्मक प्रशिक्षण दिइरहनुभएको छ । तालिम समापनपछि सहभागीहरूले व्यावसायिक रूपमा उत्पादन सुरु गर्ने अपेक्षा गाउँपालिकाको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । 

Comments