रैनादेवी छहरा गाउँपालिकामा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न
पाल्पा-रैनादेवी छहरा गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक रुक्माङ्गत भट्टराईको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिकास्तरीय विभिन्न निकायका प्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रमुख तथा गाउँपालिकाका कर्मचारीहरू सहभागी रहेको थियाे । गर्मी मौसम नजिकिँदै गर्दा आगलागीजन्य घटनाको जोखिम न्यूनीकरण र आपतकालीन व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय बैठकको मुख्य छलफलको केन्द्रबिन्दु रहेको थियो । ग्रामीण क्षेत्रमा हरेक वर्ष खुला ठाउँमा फोहोर तथा पराल जलाउने, विजुली सर्ट हुने, जंगलमा लागेको आगो बस्तीमा फैलिने जस्ता कारणहरूले आगलागीका घटना बढ्ने भएकाले सचेतना तथा पूर्वतयारी आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।
बैठकमा गाउँपालिकाका विभिन्न वडाहरूमा आगलागी नियन्त्रणका लागि पूर्वतयारी योजना बनाउने, उद्धार तथा राहत कार्यलाई व्यवस्थित गर्ने, तथा विपद् न्यूनीकरणका लागि समुदायलाई सचेत गराउने विषयमा गहन छलफल भएको थियो । बैठकमा सहभागीहरूले आगलागी रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, गाउँपालिकास्तरमा आगलागी नियन्त्रण उपकरणहरूको व्यवस्था गर्नुपर्ने तथा आपतकालीन उद्धार टोलीलाई तालिम प्रदान गर्नुपर्ने कुरामा जोड दिनु भएको थियाे ।
गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन समुदायस्तरबाटै पहल गर्नुपर्ने भन्दै सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयाे । उहाले विपद् न्यूनीकरणका लागि सचेतना कार्यक्रमहरूलाई व्यापकता दिने,आगलागी जोखिम न्यून गर्न स्थानीयवासीलाई अनुशासित र सतर्क बनाउने अभियान सञ्चालन गर्ने बताउनुभयो । बैठकमा उठाइएका विषयहरूलाई कार्यान्वयन गर्दै जाने तथा आगलागी लगायतका प्राकृतिक विपद् न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्र पार्ने निष्कर्ष निकाल्दै बैठक सम्पन्न भएको थियो ।








































Comments