रैनादेवी छहरा गाउँपालिकामा करदाता सेवा सुरु, स्थानीय स्तरमै सेवा उपलब्ध

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा करदाता सेवा औपचारिक रूपमा सुरु गरिएको छ । यसअघि करदाता सेवा कार्यालय तानसेनमार्फत प्रदान हुँदै आएको सेवा अब स्थानीय तहबाटै उपलब्ध हुने भएको छ । आन्तरिक राजस्व कार्यालय बुटवलको समन्वयमा आयोजित एक कार्यक्रमबीच सेवाको शुभारम्भ गरिएको हो । कार्यक्रममा राजस्व कार्यालय बुटवलका कर अधिकृतद्वय भिम प्रसाद सापकोटा र फर्सुराम पोखरेलले कर प्रशासनलाई स्थानीय तहसम्म विस्तार गर्नु समयानुकूल र आवश्यक निर्णय भएको बताउनुभयो । उहाँहरूले अब सेवाग्राहीहरूले सामान्य कामका लागि समेत टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाहरूले संघीयताको मर्मअनुसार सेवा प्रवाहलाई नागरिक नजिक पुर्‍याउने उद्देश्यले यस्तो सहकार्य गरिएको स्पष्ट पार्दै स्थानीय तहसँगको सहकार्यले कर प्रशासन अझ पारदर्शी, प्रभावकारी र उत्तरदायी बन्ने बताउनुभयो । स्थानीय तहले करदाता शिक्षासमेत विस्तार गर्दै कर प्रणालीलाई सहज र मैत्रीपूर्ण बनाउनुपर्ने बताउदै यो सेवा विस्तारले व्यवसायीहरूलाई औपचारिक अर्थतन्त्रमा ल्याउन सहयोग पुग्ने र राजस्व संकलनमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले अब नागरिकहरूले साना–साना कामका लागि समेत जिल्ला सदरमुकाम जानुपर्ने अवस्था अन्त्य भएको बताउँदै स्थानीय स्तरमै सेवा उपलब्ध गराउनु गाउँपालिकाको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले यस सेवाले करदातालाई सहजता प्रदान गर्नुका साथै व्यवसाय दर्ता र सञ्चालन प्रक्रियालाई सरल बनाउने बताउनुभयो । 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (PAN) जारी गर्ने, व्यक्तिगतलाई व्यावसायिक तथा व्यावसायिकलाई व्यक्तिगतमा रूपान्तरण गर्ने, दर्ता संशोधन गर्ने लगायतका कार्यहरू अब पालिकाबाट गरिने बताउनुभयो । साथै मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता, रूपान्तरण, दर्ता खारेजी, करचुक्ता प्रमाणपत्र जारी, करदाताको कार्यालय स्थानान्तरण जस्ता सेवा आन्तरिक राजस्व कार्यालय बुटवल सँगको समन्वयमा सञ्चालन गरिने बताउनुभयो । स्थानीय तहबाटै सेवा उपलब्ध भएसँगै सेवाग्राहीहरूलाई छिटो, सुलभ र पहुँचयोग्य सेवा प्राप्त हुने विश्वास गरिएको गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताउनुभयो । उहाले गाउँपालिकाबाट करदाता सेवा सुरु हुँदा समय र लागत दुवैको बचत हुनुका साथै सरकारी सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । 

 

स्थानीय स्तरमा करदाता सेवा विस्तार हुँदा करदाताको दायरा फराकिलो हुने, कर अनुपालनमा सुधार आउने र राजस्व संकलनमा वृद्धि हुने विश्वास गरिएको छ । यस पहलले संघीय शासन प्रणालीलाई व्यवहारमा सफल बनाउनेतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने देखिएको छ भने नागरिकमैत्री सेवा प्रवाहको उत्कृष्ट उदाहरणका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ  । कार्यक्रममा वडा अध्यक्ष गोविन्द रायमाझी, कार्यपालिका सदस्य महेश बराल लगायत स्थानीय व्यवसायी र सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रमको सञ्चालन रैनादेवी छहराका लेखा अधिकृत लिलामणि बस्यालले गर्नुभएको थियो । 

Comments