रैनादेवी छहरा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु

पाल्पा-रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर कार्यक्रम वडा नं ८ को कार्यालय परिसरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रूपमा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले गर्नुभएको हो । शिविरमा  अपाङ्गता परिचय पत्र नवीकरण तथा वितरण,व्यवसाय अभिलेखीकरणव्यवसाय दर्ता तथा नवीकरण,दीर्घ रोगी तथ्याङ्क अभिलेखीकरण,कृषक समूह दर्ता तथा नवीकरण,कृषि तथा पशुपंक्षी फर्म दर्ता तथा नवीकरण जस्ता सेवाहरू प्रदान गरिएको थियो ।

 

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले एकीकृत घुम्ती शिविर कार्यक्रम गाउँपालिकाको सेवा प्रवाहलाई जनमुखी, सहज र नागरिकमैत्री बनाउन ल्याइएको स्पष्ट पार्नुभयो । उहाले स्थानीय सरकारले जनताको आवश्यकता बुझेर सेवा दिनुपर्ने बताउदै  गाउँका नागरिकहरू सामान्य सेवा लिनकै लागि वडाबाट पालिकाको केन्द्रसम्म आउनुपर्ने परिस्थितिलाई मध्ये नजर गरि सेवा नै नागरिकको घरदैलोमा पुर्‍याउने अभियानका साथ शिविर सञ्चालन गरेको बताउनुभयो । उहाँले शिविरमार्फत अपाङ्गता परिचयपत्र, व्यवसाय तथा पशुपंक्षी फार्म दर्ता, दीर्घ रोगी अभिलेखलगायतका सेवा एकै ठाउँमा उपलब्ध गराइँदा नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, सेवा मात्र होइन, सेवा लिने नागरिकहरूको सन्तुष्टि र सेवाको प्रभावकारितालाई पनि ध्यान दिइने प्रतिबद्धता उहाँले जनाउनुभयो । 

 

कार्यक्रमको अध्यक्ष एवम गाउँपालिका उपाध्यक्ष युवराज थापाल गाउँपालिकाको भूगोल फराकिलो र जनताको पहुँच सीमित रहेको अवस्थामा नागरिकको घरदैलोमै सेवा दिन सक्नु पालिकाको कर्तव्य बताउनुभयो । यो शिविरले ग्रामीण क्षेत्रका नागरिकहरूलाई समय, खर्च र श्रमको बचत गर्दै सशक्त बनाउने बताउनुभयो । उहाँले सेवा प्रवाहको गुणस्तर सुनिश्चित गर्न सबै कर्मचारी र जनप्रतिनिधिहरूलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले एकीकृत शिविर गाउँपालिकाको सेवा प्रणाली सुधार गर्ने अभियानको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । यो शिविरले प्रशासनिक सेवा, स्वास्थ्य, कृषि र सामाजिक विकाससँग सम्बन्धित सेवा एउटै थलोमा उपलब्ध गराउँने बताउनुभयो। उहाले सबै वडामा यस्ता शिविर विस्तार गर्ने र सेवा वितरणको प्रक्रिया पारदर्शी र परिणाममुखी बनाउन प्रतिबद्ध व्यक्त गर्नुभयो । 

 

कार्यक्रममा वडा नं ८ का अध्यक्ष रेम बहादुर राना, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जीवन राना, मेडिकल अधिकृत डा। शिशिर कुमार पटेल, राजस्व शाखा प्रमुख सहायक लेखा अधिकृत हरि प्रसाद पराजुली, सहायक प्रशासकीय अधिकृत प्रकाश के.सी., पशु विकास शाखा प्रमुख धिरोज मगर, सहायक महिला विकास निरीक्षक छविता देवकोटा, वडा सचिव महालक्ष्मी श्रेष्ठ लगायत कर्मचारी तथा वडास्तरीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साउन २० गतेबाट सुरु भएको एकीकृत घुम्ती शिविर कार्यक्रम साउन २६ गतेसम्म गाउँपालिकाका सबै वडामा सञ्चालन हुने गाउपालिकाले जनाएको छ । गाउँपालिकाले नागरिकको प्रत्यक्ष सहभागिता र सुझावलाई प्राथमिकता दिने बताउँदै कार्यक्रम प्रभावकारी बनाउन सबै सरोकारवालालाई आह्वान गरेको छ । 

Comments