रैनादेवी छहरा गाउँपालिका–३ मा बर्थिङ सेन्टर, वडा कार्यालय र एम्बुलेन्स सेवाको उद्घाटन
पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका–३ मा नवनिर्मित बर्थिङ सेन्टर, वडा कार्यालय तथा नयाँ एम्बुलेन्स सेवाको उद्घाटन समारोह सम्पन्न भएको छ । कार्यक्रम रैनादेबी छहरा गाउँपालिका वडा न ३ का वडाध्यक्ष प्रदीप पौडेलको अध्यक्षता सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष भट्टराईले गाउँपालिकाकाे वडा न ३ मा सुरक्षित मातृत्व सेवा उपलब्ध गराउन बर्थिङ सेन्टर शुरू हुनु एक महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । बर्थिङ्ग सेन्टर शुरूवातले गर्भवती महिलाहरूलाई सुरक्षित सुत्केरी हुन सहयोग गर्ने बताउनुभयो । एम्बुलेन्स सेवाले आकस्मिक अवस्थामा बिरामीहरूलाई छिटो र सहज रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउने बताउनुभयो । नयाँ वडा कार्यालयले जनताको सेवा प्रवाहलाई अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने बताउनुभयो । यी सुविधाहरू सञ्चालनमा आएसँगै गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा र प्रशासनिक सेवा प्रदान गर्न सक्ने बताउनुभयो । स्थानीय तहको जिम्मेवारी भनेको यी सेवाहरूलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन रहेको कुरामा जाेड दिनुभयाे । समुदायको सहयोग र सहभागिता बिना कुनै पनि विकास सम्भव हुँदैन, त्यसैले सबैले यसको संरक्षण र सदुपयोग गर्नुपर्ने बताउदै सुरक्षित मातृत्व, द्रुत स्वास्थ्य सेवा र व्यवस्थित प्रशासन गाउँपालिकाकाे प्राथमिकता रहेको बताउनुभयो । यस्ले गाउँपालिकाको समृद्धिमा टेवा पुर्याउने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जिबन राना, इन्जिनियर किशोर खनाल, जिन्सी शाखा प्रमुख प्रकाश के.सी,वडाका जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियाे ।
नयाँ बर्थिङ सेन्टरमा आधुनिक प्रसूति सेवाका सामग्रीहरू उपलब्ध गराइएकाले सुरक्षित सुत्केरी सेवामा सुधार आउने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताउनुभयो । वडामा सञ्चालित नयाँ एम्बुलेन्स सेवाको सुरुवातले आकस्मिक अवस्थाका बिरामीहरूलाई छिटो र सुरक्षित रूपमा स्वास्थ्य संस्थासम्म पुर्याउन सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिकाकाे वडा न ३ मा बर्थिङ सेन्टर र एम्बुलेन्स सेवाको सञ्चालनमा आएपछि वडा र आसपासका स्थानीय बासिन्दाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने वडा अध्यक्ष प्रदिप पाैडेलले बताउनुभयो । विशेषगरी, सुत्केरी हुन घरमै जोखिम मोलेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै सुरक्षित मातृत्व सेवामा उल्लेखनीय सुधार आउने विश्वास गरेको गाउँपालिकाले जनाएको छ ।








































Comments