रैनादेबी छहरामा नि:शुल्क स्वास्थ्य शिविर,४ सय ६ जनाले पाए सेवा !!
पाल्पा-युवा सूचना केन्द्र नेपाल, सिद्धार्थनगरको व्यवस्थापन तथा संजीवनको सहयोग, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल,पाल्पाको प्राविधिक सहयोग र रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाकाे वडा न -४, मेहलढापमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हाे ।
मेहलढाप स्थित महाकाली माध्यमिक विद्यालयको परिसरमा सञ्चालन भएको शिविरमा स्वास्थ्य जाँच, औषधि, स्वास्थ्य सचेतना सत्र र विशेषज्ञ परामर्शहरू निःशुल्क उपलब्ध गराइएको थियो । लुम्बिनी मेडिकल कलेज तथा रैनादेवी छहरा गाउँपालिकाका अनुभवी चिकित्सक, नर्स र स्वयंसेवकहरूको टोलीद्वारा स्थानीय पदाधिकारी र समुदायका अभियान्ताहरूको सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ४ सय ६ जना व्यक्तिहरूले स्वास्थ्य सेवा प्राप्त गरेका छन र यसै कार्यक्रममा २० जनालाई न्यानो कपडा (स्वेटर) वितरण पनि गरिएको थियो ।
शिविरको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भट्टराईले स्वास्थ्य नै धन हाे कुरालाई उद्रित गर्दै स्वस्थ समाज नै प्रगतिशील समाजको आधार रहेको बताउनुभयो । पालिकाले साेही उद्देश्यलाई आत्मसात् गर्दै,पालिकावासीहरूको स्वास्थ्य अवस्थालाई सुधार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पालिकाले शिविरको आयोजना गरेको बताउनुभयो । शिविरमा पालिकावासीहरूलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श, औषधि वितरण, र आवश्यकताअनुसार थप उपचारसम्बन्धी जानकारी प्रदान गरिएको बताउनुभयो ।
स्वास्थ्यकर्मीहरूको टोलीले नागरिकको स्वास्थ्य समस्या समाधान गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गाउँपालिकाको यो प्रयासले पालिकाकाे वडा न ४ वासीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयाे । साथै आम पालिकावासी नागरिकहरूलाई नियमित स्वास्थ्य जाँच गराउन, स्वास्थ्यसम्बन्धी सचेतना अपनाउन, र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयाे । कार्यक्रममा रैनादेबी छहरा वडा न ४ का वडाध्यक्ष गोविन्द बहादुर रायमाझीको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बश्यालको विशिष्ट आतिथ्य, स्वास्थ्य शाखा प्रमुख जिबन राना, जनप्रतिनिधिहरूको उपस्थितिमा शिविर सम्पन्न भएको थियो ।








































Comments