रैनादेबी छहरामा एक वडा एक प्राविधिक खटाई कामलाई छिटोछरितो बनाउने प्रयास शुरू गरेका छाै ।
भैरब प्रेस संवाददाता
2 years ago
Social Share
पाल्पा- पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले एक वडा एक प्राविधिक कर्मचारी हुने गरी काममा खटाएको छ । वडास्तरबाट हुने विकास आयोजनालाई समयमै लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले गाउँपालिकाका ८ वटै वडामा एकएक प्राविधिक कर्मचारी खटाइ पालिकाका तथा वडाका कामहरूलाई छिटोछरितो बनाउने प्रयास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
कुनै पनि योजना बन्दा सम्बन्धित वडाबाटै स्थलगत अनुगमन गरी लागत अनुमान बनाउन सकिने तथा योजना सम्पन्न हुँदा पनि त्यहीँका प्राविधिकले स्थलगत अनुगमन गर्ने, कामको मूल्याङ्कन समयमै हुनेजस्ता योजनाका कामका लागि गाउँपालिकाबाट प्राविधिकको टोलीले सबै काम गर्न सम्भव नभएपछि वडामै प्राविधिक रहने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत तिमिल्सिनाले बताउनुभयो ।
‘वडामै प्राविधिक राखियो भने उपभोक्ता समितिले नबुझेका सबै कुराहरुलाई राम्रोसँग बुझेर निर्माणको काम गर्न सहज हुनाका साथै योजना निर्माणमा प्राविधिकको निगरानी, परामर्श हुने भएका कारण वडास्तरमै प्राविधिक राखेका हौंँ ’, प्रमुख प्रशासकृय अधिकृत तिमिल्सिनाले भन्नुभयाे ।, ‘गुणस्तरीय काम र स्टिमेट निर्माण गर्दा भौगोलिक अवस्था र विपत्को अवस्था हेरी प्रत्यक्ष निगरानी गर्न सकिनेछ । समयमा उपभोक्ता समिति गठन, काम सम्पन्न हुनेछ ।’
यसअघि प्रत्येक वडाका योजनाको लागत अनुमान र अनुगमन पालिकाबाटै गर्दा उपभोक्ता समितिलाई समयमै योजनाको लागत अनुमान दिन र काम शुरु गर्न समस्या भइरहेकाले स्थानीयवासीको सुविधाका लागि वडामै प्राविधिक राख्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले बताउनुभयो ।
‘जनताको सेवा घरदैलोमा पुर्याउने उद्देश्यले गाउँपालिकाले प्रत्येक वडामा कामको विभाजन गरी प्राविधिक खटाइएको छ’, गाउँपालिका अध्यक्ष भट्टराईले भन्नुभयाे ।, ‘कुनै पनि योजना निर्माणाधीन चरणमा अनुगमन गरियो भने समयमै सुधार गरी दीर्घकालीन र गुणस्तरीय बनाउन सकिन्छ । त्यसका लागि भए पनि वडामै प्राविधिक रहने व्यवस्था गरिएको बताउनुभयो ।
रैनादेबी छहरा गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत तिमिल्सिनाकाे आगमन भएसँगै कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडि राष्ट्रिय गान गाएर सेवा शुभारम्भ गर्नु भएको छ । गाउँपालिकाकाे कार्यालयले बिहान १० बजे सबै कर्मचारीलाई कार्यालयको प्राङ्गणमा उभ्याई राष्ट्रिय गान गाउन लगाएर काम गर्ने गरेको छ ।
कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागि प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उद्देश्यले कार्यक्रमको थालनी गरेकाे हाै । प्रमुख प्रशासकिय अधिकृत तिमिल्सिनाले भन्नुभयो, “यस प्रक्रियाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्रप्रतिको अपनत्वको भावको समेत विकास भई, लगनशीलता, काम गर्ने हौसलाका साथै कर्मचारी समयमै कार्यालयमा हाजिर हुने बानीको समेत विकास हुन्छ।” उहाँले यस कार्यलाई निरन्तरता दिइने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुवैलाई समेत अनुशासित हुन टेवा पुग्ने विश्वास रहेको बताउनुभयो ।
Comments