रैनादेबी छहराका आगलागी पीडितलाई राहत सहयोग

पाल्पा, जिल्लाको मानवीय सेवामा क्रियाशिल रहेका लायन्स क्लब अफ पाल्पा, लायन्स क्लब अफ रणउज्जेश्वरी र लायन्स क्लब अफ तानसेन पाल्पाले रैनादेबी छहराका आगलागी पीडितलाई राहत सहयोग गरेका छन । शुक्रबार आगलागी पिडितको घरमै पुगी सहयोग गरेका हुन । उनीहरुले पाल्पाको रैनादबी छहरा गाउँपालिका –४ का आगलागी पीडितहरूलाई राहत सामग्री सहयोग गरेका हुन । लायन्स क्लब एरिया २ का जोन चियर पर्सन मोहन प्रसाद श्रष्ठको नेतृत्वमा गएको टोलीले राहत सहयोग गरेको हो । 

 

 जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि लाखौंको धनमाल नष्ट भएको थियो । आगलागीबाट घरबार गुमाएका यहाँका नागरिकहरुलाई क्लवहरुले राहत स्वरुप लत्ता कपडा, खाद्यान्न सहयोग गरेका हुन् । क्लबहरूले  प्रभावित क्षेत्रमै  पुगेर चामल,  तेल, सोयाविन, पुरनदाना,विस्कुट, कपडा लगायतका भाडाकुडाहरू वितरण गरेको लायन्स क्लब अफ पाल्पा तानसेन अध्यक्ष अमर प्रसाद श्रेष्ठले जानकारी दिए । 

 

लायन्स क्लब एरिया २ का जोन चियर पर्सन  मोहन प्रसाद श्रष्ठले छहरामा भएको आगलागीको घटनाले लायन्सलाई अत्यन्त दुखी बनाएको र घरबारविहीन भएकाहरुलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत सामग्री लिएर प्रभावित क्षेत्र पुगेको बताए । यो बर्ष पाल्पा जिल्लाका धेरै स्थानमा आगलागी भएकाले विपतको यो विषम परिस्थितिमा सबै पक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताए । सबैको सानो सहयोगले विपदमा परेका नागरिकहरूलाई राहत हुने बताए । राहत वितरणमा लायन्स क्लब अफ रणउज्जेश्वरीका अध्यक्ष सरस्वती राज भण्डारी,समाजसेवी शंकर रायमाझी,समाजसेवी बिष्णु प्रसाद पोखरेल,नित्यानन्द पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।

 

राहत वितरण कार्यक्रममा रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले विपतको दुखद परिस्थितिमा लायन्स क्लबहरूले पालिकाका आगलागी पिडितहरूलाई मध्ये नजर गरि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे  । गाउँपालिकाले विपद व्यवस्थापन समितिको निर्णय अनुसार पिडितहरूलाई तत्कालका लागि आवश्यक राहत सामाग्री प्रदान गरिरहेको बताए । यो बर्ष पाल्पा जिल्लाका धेरै स्थानहरूमा आगलागी भएर ठुलो मात्रामा जनधनको क्षति भइरहेको बताए । रैनादेबी छहरा गाउँपालिकामा पनि विभिन्न स्थानहरूमा आगलागी भएको र लाखौको क्षति भएको बताए । विपदको विषम परिस्थितिमा सबै संघ सस्था,स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए ।  

Comments