रैनादेबी छहरा वडा न ६ मा महिलाहरूको पाठेघरको क्यानसर जाँच शिविर सम्पन्न

पाल्पा-रैनादेवी छहरा गाउँपालिकाको ६ नं वडाको जुठापौवा स्वास्थ्य चौकीमा महिलाहरूको पाठेघरको मुखको क्यानसर पहिचान तथा रोकथाम गर्नका लागि VIA स्क्रिनिङ शिविर तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

 

शिविरमा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई प्रमुख अतिथि रहनुभएको थियो भने ६ नं वडाका वडाध्यक्ष श्री दोम बहादुर घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भट्टराईले महिलाहरूको स्वास्थ्य सुरक्षामा यस्ता शिविरहरू अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पाठेघरको मुखको क्यानसर जस्तो गम्भीर रोगको पहिचान तथा रोकथामका लागि समुदाय स्तरमै सचेतना आवश्यक रहेको औंल्याउँदै गाउँपालिकाले समुदाय स्तरमै शिविर सञ्चालन गरेको बताउनुभयो । साथै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता प्रतिवद्धता जनाउनुभयो ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताउँदै, गाउँपालिकाले समुदायमा स्वास्थ्य पहुँच विस्तार गर्न निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता शिविरहरूले जनचेतना अभिवृद्धि गर्दै रोगको समयमै पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा मेडिकल अधिकृत  शिशिर कुमार पटेल, स्वास्थ्यकर्मीहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले शिविरमा जम्मा १३२ जनाले स्वास्थ्य सेवा लिनु भएको बताउनुभयो । जसमध्ये ८६ जनाले पाठेघरको मुखको क्यानसर जाँच गराउनुभएकाे बताउनुभयो । कार्यक्रमले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति जागरूक गराउँदै समयमै क्यानसर पहिचान गरी आवश्यक उपचारका लागि मार्गनिर्देशन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

Comments