रणउज्जेश्वरी भगवती जात्रामा खेलको आयोजना नेपाली गौरवसँग जोडिएको छ । – प्रदेश सभा सदस्य राना

पाल्पा- लुम्बिनी प्रदेश सभा सदस्य बीर बहादुर रानाले खेलकुदमार्फत जिल्लाको पहिचान, खेलाडी उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताएका छन् । रणउज्जेश्वरी भगवती जात्राको अवसरमा श्रीनगर क्लबले आयोजना गरेको खेल प्रतियोगिताको उद्घाटन गर्दै उनले, यो खेल केवल प्रतिस्पर्धाको मात्र नभई नेपालकै गौरवगाथासँग पनि जोडिएको उल्लेख गरे । उनका अनुसार यस प्रकारका आयोजनाले स्थानीय संस्कृति र परम्परा संरक्षणसँगै राष्ट्रिय एकता र गौरवलाई थप मजबुत बनाउन मद्दत गर्ने बताए । 

 

तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा प्रतियोगिता आयोजना हुनु सुखद् रहेको बताउँदै खेलकुदको विकास र विस्तारका लागि नगरपालिका सधैव तयार रहेको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनदेखि समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताउँदै हरेक खेलमा पाल्पाली पत्रकारले साथ दिएको उल्लेख गरे । श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आलेले क्लबले खेलाडी उत्पादन तथा जिल्लाको गौरव गाथालाई समेटेर यो प्रतियोगिता आयोजना गरेको बताए । 

 

बिहीबार भएको महिला तर्फको लिग चरणको पहिलो खेलमा न्यू होराइन क्लब तानसेनले आयोजक टिम श्रीनगर भलिबल क्लबलाई  २-० को सोझो सेटमा पराजित गर्यो। यस्तै महिलातर्फको दोस्रो खेलमा चण्डेश्वरी युवा क्लब रिब्दीकोट ६ ले निस्दी भलिबल क्लबलाई २-० को सोझो सेटमा पराजित गर्न सफल भयो । यस्तै तेस्रो खेलमा न्यू होराइजन तानसेनले कानुङ्ग मगर भलिबल क्लबलाई  २-० को साझो सेटमा हरायो।पुरूषतर्फको उद्घाटन खेल पनि बिहीबार सम्पन्न भएको छ । पहिलो खेलमा पाल्पा भलिबल क्लबले जीत हात पारेको छ । बेस्ट अफ पाइभ अन्तरगतको खेलमा ३-१ को सेटमा न्यू होराइजन भलिबल क्लवलाई पराजित गरेर पाल्पा भलिबल क्लबले जित हात पारेको हो ।

 

प्रतियोगितामा महिला र पुरुषतर्फ पाँच/पाँच टिम सहभागी रहेका छन् । प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने कार्यक्रम छ । पुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार ६ सय बराबरको खर्च अनुमान गरिएको क्लवका सचिव एवं खेल संयोजक दिपक चोहानले बताए । 

Comments