रामपुरमा सहिद सुर्य प्रसाद घिमिरेको शालिक अनावरण

पाल्पा, २०४६ को जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका सहिद सुर्य प्रसाद घिमिरेको रामपुरमा शालिक अनावरण गरिएको छ । रामपुर नगरपालिका-५ बेझाँडमा निर्माण भएको ऐतिहासिक जनआन्दोलनका २०४६ सालका प्रथम सहिद घिमिरेको शालिकको बुधबार अनावरण गरिएको हो ।

 

शालिकको नेपाल सरकारका गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले अनावरण गर्नु भएको हो । शालिकको अनावरण गर्दै उहाँले सहिदहरुको बलिदानी बाट नै वर्तमान शासन व्यवस्था सम्भव भएको बताउनुभयो । उहाँले लोकतन्त्रको जग बलियो बनाउन सहिदहरुको महत्वपूर्ण स्थान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको लोकतन्त्र त्यसै आएको होईन । हामीले प्राप्त गरेको अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधि चुन्ने अवसर सहिदहरुको उच्च बलीदानी बाट नै सम्भव भएको हो ।”

 

शालिक हेरेर मात्रै बस्ने कुरा नभै यसको ईतिहास सम्झनुपर्ने बताउँदै गृहमन्त्री लेखकले नयाँ पुस्तालाई ईङ्कित गर्दै लोकतन्त्र नेपाली जनताले लडेर, साहदत प्राप्त गरेर ल्याएको बताउनुभयो । पुर्ण कदको साढे ५ फुट सहितको शालिक रामपुर नगरपालिकाको आर्थिक सहयोगमा सहिद सुर्यप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले निर्माण गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सहिद घिमिरेको जीवनी र योगदानको चर्चा गर्नु हुँदै राज्यले सहिदका परिवारको उचित सम्मान गर्न नसकेको बताउनुभयो ।

२०४६ सालको जनआन्दोलनको फागुन ७ गते पहिलो दिन देश मै पहिलो पटक रामपुरमा प्रहरीले गोली चलाएको थियो । आन्दोलनको क्रममा पञ्चायती व्यवस्थाको विरुद्धमा बेझाँडमा नारा घन्काउँदै गर्दै घिमिरे प्रहरीको गोली लागेर घाइते हुनु भएको थियो । घाईते हुनु भएका घिमिरेको फागुन १६ गते बुटवलमा उपचारको क्रममा सहादत प्राप्त गर्नु  भएको थियो ।

 

सहिद सुर्यप्रसाद घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सहिद पुत्री एवम् रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष चिरन्जीवी सिग्देलले गर्नु भएको थियो ।  कार्यक्रमको अवसरमा सहिद घिमिरेका धर्मपत्नी राधादेवी घिमिरेलाई गृहमन्त्री लेखकले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

Comments