रामपुरमा गणेशमान स्मृति प्रतिष्ठान भवन समुद्घाटन

पाल्पा, पाल्पाको रामपुर नगरपालिका–५, बेझाँडमा निर्माण भएको गणेशमान स्मृति प्रतिष्ठान भवनको समुद्घाटन गरिएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले निर्माण गरेको भवनको उपप्रधान तथा सहरी विकास मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह समुद्घाटन गर्नु भएको हो  ।

 

राष्ट्रिय एकता तथा मेलमिलापको दिवसको अवसर पारी मंगलबार भवन समुद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नका लागि कांग्रेस चुनौतीको सामाना गर्न तप्पर हुनु पर्ने बताउनुभयो । चुनौतीलाई सामाना गर्न पार्टीलाई सक्षम, प्रभावकारी र व्यवस्थित रुपमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनु भएको थियो । उहाँले भन्नुभयो, “लामो संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्वद्र्धन गर्नका लागि नेपाली कांग्रेस पार्टी भित्र आउँदै गरेको चुनौतीलाई सामाना गर्न सक्ने सक्षम, प्रभावकारी र व्यवस्थित पार्टीको रुपमा अघि बढाउनु पर्ने चुनौति सामना गर्न हामी तप्पर हुनु पर्छ ।”संस्थापक नेताहरुले सिकाउनु भएको सिद्धान्त र आदर्शको कदर गर्दै विधि र  नियम अनुसार संस्थागत रुपमा पार्टीलाई अघि बढाउन सके मात्र अग्रजहरुको योगदानको सम्मान हुने बताउनुभयो । विपि कोइरालाले राष्ट्रिय एकता मै आँच आउने सम्भावना रहेकाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नु भएको स्मरण गर्नुभयो । पुस १६ महत्वपूर्ण दिन भएको बताउनुभयो ।

 

गणेशमान सिंह कांग्रेसले मात्र नभै सबैले जनताले मान्ने नेता भएको बताउँदै उहाँको सम्मानमा भवन निर्माण भएकोे धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले हार्दिकता सहितको एकतालाई कायम राख्दै मुलुक बाट नैरास्यता हताउन तीनै तहका सरकारले सक्रिय भुमिका खेल्नु पर्ने बताउनुभयो ।

 

बेझाँड बजारमा निर्माण भएको पाँचतले भवन ७७ लाख ९३ हजार ४७८ रुपियाँको लागतमा सम्पन्न भएको गणेशमान स्मृति प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले जानकारी दिनुभयो । भवनको २०७० सालमा शिलन्यास भएको भवनको २०७१ देखि निर्माण सुरु भएको थियो । सुरुवातमा स्थानीय विकास मन्त्रालय बाट विनियोजित १० लाख रुपियाँ बाट भवन निर्माण सुरु भएको थियो । त्यस पश्चात जिल्ला विकास समिति पाल्पाको १० लाख, रामपुर नगरपालिका बाट विभिन्न समयमा विनियोजित ५२ लाख, अन्य दताहरुको सहयोग तथा घरभाडा बाट भवन निर्माण सम्पन्न भएको नेपाली कांग्रेस रामपुरले जनाएको छ । भवन समुद्घाटनको अवसरमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले पूर्व रामपुर गाविस अध्यक्ष रामप्रसाद भट्टराई, भवन निर्माण समितिका संयोजक क्याप्टेन बहादुर थापा मश्राङ्गीलाई सम्मान गरिएको थियो ।

 

नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । गणेशमा स्मृति प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रम सभापति भट्टराईको अध्यक्षतामा, उपसभापति ज्ञान प्रसाद भण्डारीको स्वागत र सचिव चिरञ्जीवी सिग्देलको सञ्चालनमा भएको हो ।

Comments