रामपुरका युवा उद्यमीहरुलाई युवा स्वरोजगार कार्यक्रमबारे अभिमुखिकरण प्रदान
पाल्पा ,रामपुर नगरपालिकाले युवा उद्यमीहरुलाई युवा स्वरोजगार कार्यक्रम बारे अभिमुखिकरण प्रदान गरेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गर्दै आएको व्याज अनुदान कार्यक्रमको विषयमा मंगलबार अभिमुखिकरण प्रदान गरेको हो । चालु आर्थिक वर्षमा व्याज अनुदानका लागि निवेदन दिनु भएका उद्यमीहरुलाई कार्यक्रमको उद्देश्य, मापदण्ड र प्रक्रियाको विषयमा जानकारी दिन कार्यक्रमकाे आयोजना गरिएको हाे ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नका व्याज अनुदान कार्यक्रम नगरपालिकाले देश मै पहिलो पटक सुरुवात गरेको बताउनुभयो । पालिकाले सुरु गरेको व्याज अनुदान कार्यक्रम अहिले प्रभावकारी बनेको बताउनुभयो । कतिपय कृषकले अनुदान लिने, अनुदान पाएपछि वीचमै छाड्ने प्रवृत्ति रहेकाले राज्यको लगानी सहि ठाउँमा सदुपयोग होस् भन्ने अवधारणाका रूपमा व्याज अनुदान कार्यक्रम ल्याएको नगर प्रमुख थापाले बताउनुभयो । आफुले कारोबार गरेको रामपुर नगरभित्रका जुनसुकै वित्तीय संघ संस्थाको खातामा ३÷३ महिनामा नगरपालिकाले व्याज अनुदानका रूपमा रकम भुक्तानी गरिदिने उहाँले बताउनुभयो । रामपुर नगरपालिकाले युवालाई प्रोत्साहन गर्न २ वर्ष सम्मका लागि व्याज अनुदान दिदै आएको जानकारी दिनुभयो ।
यस आर्थिक वर्षमा छनौट भएका युवा उद्योगीलाई लक्षित गरेर अभिमुखिकरण कार्यक्रम गरिएको हो । केही काम गर्न खोज्ने, चाहना भएका युवा उद्यमीलाई व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बनाउन व्याज अनुदान उपलब्ध गराउँदै आएको छ । कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अवलम्बन गरेको मापदण्ड र प्रक्रियाको विषयमा जानकारी गराउनु भएको थियो । २१ वर्षदेखि ५९ वर्ष सम्मका युवालाई यस कार्यक्रममा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।
सहभागीले कृषि तथा पशुपंक्षिको बिमा गर्न बिमा कम्पनीले नमानेको गुनासो गरेका थिए । पशु शाखा प्रमुख तुलसीराम काफ्लेले बीमाको विषयमा नियामक निकाय वीमा प्राधिकरणलाई झकझक्याउनु आवश्यक रहेको बताउनुभयो । युवा उद्यमी विनोद श्रेष्ठले केहि गर्छु भन्ने युवाका लागि यो कार्यक्रम अति राम्रो रहेको बताउनुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन कृषि शाखाका प्राविधिक युवराज नेपालीले गर्नु भएको हो । नगरपालिकाले व्याज अनुदानको चालु अर्थिक वर्षका लागिसूचना आह्वान गरेकोमा ४४ जनाले आवेदन पेश गरेका थिए ।








































Comments