रामपुरका महिला दिदीबहिनीहरुलाई महिला कानुनी अधिकार सम्बन्धी सचेतना

पाल्पा,रामपुरका महिला दिदीबहिनीहरुलाई महिला कानुनी अधिकार सम्बन्धी सचेतना प्रदान गरेको छ । रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं. ७ का महिला दिदिबहिनीहरुलाई कानुनी सचेतना प्रदान गरेको हो । 

 

मंगलबार भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले महिला माथी हुने हरेक हिंसालाई कानुनी उपचार मार्फत समाधान गर्नु पर्ने बताउनुभयो । उहाँले व्यक्तिगत व्यवहार र आचरणका कारण घर परिवार र समाजमा हिंसा हुने भन्दै यसको न्यूनीकरणका लागि सबै सचेत हुनु पर्नेमा जोड दिनुभयो । हिंसा रहित समाज र नगर निर्माणका लागि सबै नगरबासी प्रतिबद्ध भएर लाग्न आग्रह समेत गर्नु भएको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले समाजमा व्याप्त हिंसाको न्यूनीकरणका लागि सचेत हुन आवश्यक रहेको बताउनुभयो । साथै हिंसा सहेर बस्दा हिंसालाई थप बढावा मिल्ने भन्दै यसलाईे तत्काल कानुनी दायरामा ल्याउनु पर्ने बताउनु भएको छ ।  चेमन प्रकाश पोखरेलले विकृतिले विभिन्न नकारात्मक घटना निम्त्याउने भन्दै नकरात्मक गतिविधिबाट पछाडि हट्नु पर्ने बताउनुभयो । बाल विवाह र बहुविवाहका कारण महिला हिंसा बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भएको छ । वडा अध्यक्ष दोवराज तिवारीले वडामा महिला हिंसाका घटना बढ्नु चुनौतीको रुपमा रहेको बताउनुभयो । 

 

महिला हिंसाका कारण आत्महत्या र सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको उल्लेख गर्नुभयो । रामपुर नगरपालिका वडा नं.७ को योगहल किसानबारीमा भएको कार्यक्रममा हिंसाको स्रोत, यसको पहिचान , हिंसा हुनुकोे कारण र असर, कानुनी उपचारको प्रक्रिया र प्रावधान,हिंसाबाट पिडितको उद्दारको व्यवस्था, सजाय सम्बन्धी व्यवस्थाका विषयमा सहजिकरण गरिएको थियो । तालिमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखाका प्रमुख पुजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसिका फोकल पर्सन सरस्वती पौडेलले गर्नु भएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समिति संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । न्यायीक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।

Comments