रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
पाल्पा-रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट पाल्पाको आर्थिक वर्ष २०८२।८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटको आयोजना तथा रम्भा गाउँपालिकाको समन्वयमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, सडक, खेलकूद, होमस्टे, पशुपालन, खानेपानी, संचार लगायतका क्षेत्रसंग सम्बन्ति विषयहरुबारे जिज्ञासा तथा प्रश्नहरु राखेका थिए । कार्यक्रममा सानाहुँगी माध्यमिक विद्यालयका अध्यक्ष भिमबहादुर सारु, विद्यार्थीहरु सूचना राना तथा जीवन गाहाले सानाहुँगी माध्यमिक विद्यालयमा खेलमैदान र सुविधा युक्त कक्षाकोठा नभएको र कक्षा ११ र १२ मा अध्यापन गर्ने विषयगत शिक्षक नभएको बताउदै स्थानीय सरकारले यसको व्यवस्थापन गर्नुपर्ने बताए । सहभागी सोम बहादुरघर्ती, दिल्लीसरा गाहा, अमानसिं सारु, टकबहादुर फाल, हुम बहादुरपाडे, हिरासिं सोमै लगायतले किटेनी बेलौजा मोटरबाटो, किटेनी लाँबे खर्केहान मोटरबाटो, गाबुडाँडा झेस्काङ्ग मोटरबाटो, झर्लेङ्ग सटाकडाँडा मोटरबाटो तथा रानीबास सहदीखोला मोटरबाटो समयसापेक्ष सुधार गर्न सडकलाई प्राथमिकतामा राखेर योजना बनाउन माग गरे ।
सार्वजनिक सुनुवाईमा नरमती सारु, जितबहादुर गाहा, बीरबहादुर गुरुङ्ग लगायतले रानीबास सामुदायिक होमस्टेले संचालनको छोटो समयमा नै धेरै पाहुनाहरु भित्राउन सफल भएको तर यहाँ आउने मोटरबाटो राम्रा नभएको, नेपाल टेलिकमको टावरले राम्रोसंग नटिप्ने, लगायतका विषय उठान गरेका थिए । कार्यक्रममा घनबहादुर सारु, मिनबहादुर दर्लामीले निर्माण सामाग्रीको जिल्ला दररेट अनुसारको सामाग्री तथा ढुवानी लागत यस क्षेत्रमा धेरै हुँदा भौतिक निर्माणका कार्य गर्न कठिनाई भएको बताए । कोटथर महिला पन्चेबाजा समूहका अध्यक्ष दिलमाया पाडे तथा रोशन परियारले पन्चेबाजाको सहनाई तालिम थप्नु पर्नेमा जोड दिए । महेन्द्र आविका प्रधानाध्यापक नारायण मश्राङ्गी तथा अध्यक्ष पे्रमबहादुर सिंजालीले विद्यालयको नजिकैको पहिरो रोकथामको लागि सरकारले समयमै उचित पहल गर्नुपर्ने बताए
कार्यक्रममा रम्भा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपानेले उठेका जिज्ञासुका प्रश्नहरुको उत्तर दिए । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्साद भण्डारीले आम नागरिकसंग नजिक रहन र नागरिकका गुनासोको सबैसामु सुनेर सुशासन कायम गर्न तथा जवाफदेहीता बढाउन रम्भा गाउँपालिकाले वडा स्तरमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको बताए । कार्यक्रममा वडा सचिव धनकुमारी सारुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेका भौतिक, आर्थिक तथा नागरिक सेवा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिईन । पाल्पा विकास केन्द्र तानसेनका किरण कौशल तथा कृष्ण पोखरेलको सहजीकरणमा संचालित सार्वजनिक सुनुवाई कार्यक्रममा फोक्सिङ्गकोटका विभिन्न टोलबस्तीका महिला, सामुदायिक संस्थाका प्रतिनिधि, शिक्षक, प्रधानाध्यापक, राजनैतिक पाटीका प्रतिनिधि, सेवा प्रदायक कार्यालयका प्रमुख, विद्यार्थी, सुरक्षाकर्मी, होमस्टेकर्मीहरु गरी १५६ जनाको सहभागिता रहेको थियो । कार्यक्रम २ नं. वडाका वडा अध्यक्ष चेतबहादुर सुनारीको अध्यक्षतामा चलेको थियो ।








































Comments