राजिप मियाँ र पुरन दर्लामीलाई संगम मेडिकल छात्रवृत्ति प्रदान

पाल्पा-गत वर्षदेखि निरन्तर प्रदान हुँदै आएको “संगम मेडिकल छात्रवृत्ति” यस वर्ष जनता उच्च माध्यमिक विद्यालय, पाल्पामा कक्षा १० मा अध्ययनरत छात्र राजिप मियाँ लाई प्रदान गरिएको छ । छात्रवृत्तिको राशि रु १० हजार रहेको छ, जसले विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रोत्साहन र प्रेरणा दिने उद्देश्य राखेको आयोजकले बताएका छन् ।

 

त्यसैगरी, यस वर्षदेखि नयाँ रूपमा स्थापना गरिएको “संगम मेडिकल फरक क्षमता छात्रवृत्ति” पहिलोपटक पाल्पा सि वि अार आवद्ध, रुप्से पाल्पा घर भई हाल तानसेन बसपार्कमा बस्दै आएका १४ वर्षका पुरन दर्लामीलाई प्रदान गरिएको छ । दर्लामी फरक क्षमताका भए पनि निरन्तर सिकाइ र आत्मनिर्भर जीवनप्रतिको लगनशीलताका कारण चयन भएका हुन् । यी दुवै छात्रवृत्ति शनिबार सम्पन्न पाल्पा उद्योग वाणिज्य संघको साधारण सभाका अवसरमा सम्मानपूर्वक वितरण गरिएको हो । कार्यक्रममा संघका पदाधिकारी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको थियो।

 

कार्यक्रमका वक्ताहरूले यस्ता छात्रवृत्ति कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र सक्षम तथा फरक क्षमताका बालबालिकालाई समान अवसर दिलाउने कार्यमा योगदान पुर्‍याउने बताएका थिए । कार्यक्रमका क्रममा संगम मेडिकलका सञ्चालक रूक्मागत शर्माले छात्रवृत्ति कार्यक्रममार्फत शिक्षाक्षेत्रमा सानो भए पनि योगदान पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । उहाले भन्नुभयो  “हाम्रो उद्देश्य सक्षम विद्यार्थी र फरक क्षमता भएका बालबालिकामा आत्मविश्वास जगाउने हो । शिक्षा र हौसला दुवै आवश्यक हुन्छन्, त्यसैले हामीले यो पहल सुरु गरेका हौं।” उहाले आगामी वर्षहरूमा पनि विद्यार्थीहरूका लागि यस किसिमका छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।  समाजसेवा र शैक्षिक प्रोत्साहनका लागि सुरु गरिएको संगम मेडिकल छात्रवृत्ति अहिले एक उदाहरणीय अभियानको रूपमा स्थापित हुँदै गएको छ । 

Comments