रिडीको ऋषिकेश धाममा ‘भोजन सेवा कार्यक्रम’ सम्पन्न, बटुक र भक्तजनलाई भोजन तथा दक्षिणा हस्तान्तरण
पाल्पा-लायन्स क्लब अफ पाल्पा बिपना सित्तलपाटिको आयोजनामा पाल्पाको रिडीस्थित नेपालका प्रमुख ४ धाममध्ये एक मानिने पवित्र ऋषिकेश धाममा ‘ Hunger Relief Programme’ सम्पन्न भएको छ । धार्मिक र सामाजिक भावनाको समिश्रणमा आधारित यस विशेष कार्यक्रम अन्तर्गत ऋषिकेश धाममा वास बस्ने भक्तजनहरू तथा गायत्री ब्रह्मचार्य आश्रममा अध्ययनरत करिब ५० जना बटुकलाई भोजन दान गरिएको हो । साथै उनीहरूलाई सम्मानस्वरूप दक्षिणासमेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख प्रायोजन क्लबका सदस्य एम जे एफ लायन गोपाल पौडेल र विष्णु पौडेल गर्नुभएको थियो । उहाहरूले आफ्ना दिवंगत सुपुत्र स्व.इञ्जिनियर विवेक पौडेलको सातौं पुण्य स्मृतिमा भोजन दान गर्नुभएको हो । कार्यक्रममा बोल्दै गोपाल पौडेलले पुत्रको स्मृतिमा हामीले धर्म र मानव सेवाको माध्यम रोजेका छौं । भक्ति र सेवा एउटै सिक्काका दुई पाटाहरू हुन् भन्ने भावना बोकेर यो कार्यक्रम आयोजना गरिएको हो ,उहाले बताउनुभयो ।
कार्यक्रमको संयोजन ऋषिकेश गुठी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले गर्नुभएको थियो । उहाले सेवा कार्यको महत्त्वमाथि जोड दिँदै ऋषिकेश धाम केवल पूजास्थल नभई, यो नैतिक मूल्य, संस्कार र साधनाको श्रोत रहेको बताउनुभयो । यस्तो धार्मिक स्थलमा यस्ता कार्यक्रमले आस्था र सेवाको गहिरो सम्बन्ध स्थापित गर्ने बताउनुभयो । क्लबका द्वितीय उपाध्यक्ष जयप्रकाश उप्रेतीले भजन मार्फत भावनात्मक सन्देश मात्र दिनु भएन कि उहाको प्रस्तुतीले सामाजिक एकताको ध्वनि पनि गुञ्जाएको थियो । उहाले धर्मले सेवा, संस्कार र श्रद्धालाई एकसाथ लिने अभ्यास गर्ने बताउनुभयो । कार्यक्रमले तिनै पक्षहरूलाई एकै ठाउँमा जोड्न सकेको बताउनुभयो ।
कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट रमेश बज्राचार्य, सदस्य रुपा थापा, द्वितीय उपाध्यक्ष जयप्रकाश उप्रेती लगायत अन्य पदाधिकारीहरूको उल्लेखनीय सक्रियता रहेको थियो । कार्यकममा के.बि.आर्ट तानसेनका सञ्चालक तथा क्लब सदस्य लायन अमृत गुरुङले कार्यक्रमको ब्यानर प्रायोजन गर्दै कार्यक्रमको प्रचारप्रसार पक्षलाई सबल बनाउनुभएको थियो । कार्यकममा क्लबका अध्यक्ष रुक्मांगत शर्माले सबै सहयोगीप्रति आभार प्रकट गर्दै क्लब सदैव सेवा र समर्पणको बाटोमा अगाडि बढ्ने प्रण व्यक्त गर्नुभयो । उहाले भन्नुभयो 'हामीले देखाएको यो सानो प्रयास भावी दिनमा अझ व्यापक बन्नेछ भन्ने विश्वास लिएको छु ।” कार्यक्रमले धार्मिक स्थलमा सेवा मूलक क्रियाकलापको सकारात्मक प्रभाव पर्ने सन्देश दिन सफल भएको आयोजकहरूको विश्वास छ ।








































Comments